

कोशी प्रदेशको लगानी सम्मेलन र पर्यटन वर्ष २०८२ लाई निजी क्षेत्रको पूर्ण समर्थ
विराटनगर, – कोशी प्रदेश सरकारले आगामी वैशाख १८ र १९ गते विराटनगरमा आयोजना गर्न लागेको पहिलो लगानी सम्मेलन तथा पर्यटन वर्ष २०८२ कार्यक्रमलाई निजी क्षेत्रले पूर्ण समर्थन गर्ने प्रतिबद्धता जनाएको छ।
नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले नेपाल कृषि बजार विकास कार्यक्रम ‘सहज विराटनगर’को सहकार्यमा आयोजना गरेको “कोशी प्रदेशको आर्थिक अवस्था, लगानीका सम्भावना र चुनौती” विषयक अन्तर संवाद कार्यक्रममा निजी क्षेत्रका प्रमुख प्रतिनिधिहरूले संयुक्त रूपमा प्रदेश सरकारको प्रयासलाई सफल बनाउन सहकार्य गर्ने प्रतिबद्धता जनाएका हुन्।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विभिन्न मन्त्रालयका मन्त्रीहरू, सचिवहरू, प्रदेश लगानी प्राधिकरणका पदाधिकारीहरू, साथै राष्ट्रिय तथा स्थानीय लगानीकर्ता र व्यवसायीहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले प्रदेश सरकारले लिएको पहललाई स्वागत गर्दै सार्वजनिक-निजी सहकार्यबाट आर्थिक समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरे।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकाल, कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडा, र उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानालगायतका व्यवसायीहरूले प्रदेश सरकारसँग हातेमालो गर्दै योजना सफल बनाउन एकजुट हुने प्रतिबद्धता जनाए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकोकोशी प्रदेश समितिका अध्यक्ष राउतले कृषि, उद्योग, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जा लगायत १० वटा क्षेत्रलाई समेट्ने ६० परियोजनामार्फत झण्डै १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको लगानी भित्र्याउने लक्ष्य रहेको जानकारी दिए। उनले प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन प्रदेशको समृद्ध भविष्यको लागि एउटा ऐतिहासिक कदम भएको उल्लेख गर्दै कार्यक्रमको आयोजना पनि त्यसैको सुदृढीकरणको उद्देश्यले गरिएको बताए।
कार्यक्रमका विश्लेषक भेषराज पौडेलले कोशी प्रदेशको आर्थिक अवस्था, लगानीका सम्भावना र चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्दै सुनसरी–मोरङ औद्योगिक कोरिडोरको व्यवस्थित विस्तार, बिर्तामोड, धरान, इटहरी, दुहबी र विराटनगरलाई सुविधा सम्पन्न शहर बनाउने आवश्यकता र सम्भावनाबारे प्रकाश पारे।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई प्रोत्साहन नगरी आर्थिक विकास सम्भव नरहने तर्क राख्दै राज्यले नीतिगत स्पष्टता र प्रोत्साहन प्रदान गरेमा मात्र निजी क्षेत्रबाट ठूला लगानीहरू आकर्षित गर्न सकिने बताए। उनले रोजगारी सिर्जना, उत्पादन वृद्धिसहित व्यापार तथा व्यवसायको विस्तारका लागि लगानीमैत्री वातावरण अत्यावश्यक भएको बताए।
पाथीभरा केबलकार परियोजनालाई लिएर उत्पन्न विवादबारे उनले धर्म, संस्कृति र पहिचानको सम्मानसहित परियोजना अघि बढाउन कम्पनी तयार रहेको बताए। उनले स्थानीय समुदायसँग संवाद र सहमतिको आधारमा अघि बढ्नुपर्नेमा जोड दिंदै परियोजनाबाट धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा कुनै असर नपर्ने स्पष्ट पारे।
कोशी प्रदेश का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलनमार्फत ठूलो परिमाणमा विदेशी लगानी भित्रिने अपेक्षा व्यक्त गर्दै लगानीमैत्री वातावरण बनाउन हालसम्म ३० वटा संघीय ऐनहरू संशोधन भइसकेको र प्रदेशस्तरका थप ७ ऐन संशोधन प्रक्रियामा रहेको जानकारी दिए।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार उद्योगी तथा व्यवसायीहरूको लगानीको संरक्षण गर्न प्रतिबद्ध रहेको दोहोर्याउँदै भने, “यो लगानी सम्मेलन प्रदेश सरकारको संरचनाबाट आयोजना हुने पहिलो औपचारिक सम्मेलन हो, जसबाट समृद्ध कोशी प्रदेश र सम्पन्न नेपालको सपना साकार हुनेछ।”
उनले सरकारको नीति र कानुनको परिधिभित्र रहँदै अगाडि बढाइएको पाथीभरा केबलकार परियोजनामा अनावश्यक अवरोध नगर्न पनि आग्रह गरे।
लगानी सम्मेलन र पर्यटन वर्ष २०८२ लाई सफल बनाउन निजी क्षेत्रको यस प्रकारको समर्थनले कोशी प्रदेशमा दीर्घकालीन आर्थिक विकास र रोजगारी सिर्जनाको मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ।