भारतको अयोध्यामा राममन्दिरकमे प्राणप्रतिष्ठा हुन लागेको छ । यता रामको ससुराली जनकपुरधाममा आज उत्सवको माहोल देखिएको छ ।
जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, हनुमान मन्दिर लगायतका स्थानमा भजन-कीर्तन चलिरहेका छन् । जानकी मन्दिरमा आज साँझ एक लाख २५ हजार दिप बाल्ने तयारी गरिएको छ । जनकपुरधामका मेयर मनोज साहले नगरबासीलाई दीपावली गर्न भनेका छन् ।
जनकपुरधामका थुप्रै घरमा श्रीराम र हनुमान अंकित झण्डा ठड्याइएको देख्न सकिन्छ । घर, पसल र सडकहरु सिंगारिएको छ । सडकमा गुड्ने प्रायः सवारी साधनमा श्रीराम अंकित झण्डा लगाएको छ ।
प्राण प्रतिष्ठाको अवसरमा जानकी मन्दिरका छोटा महन्त रामरोषण दासले मुख्यमन्त्री सरोज कुमार यादवलाई ज्ञापनपत्र बुझाएर सार्वजनिक विदा नै दिन माग गरेका थिए ।
प्रदेश सरकारले बिदा नदिए पनि मधेशका धेरै पालिकाले आज सार्वजनिक विदा दिएका छन् । वीरगञ्ज, राजविराज, लहान, सिरहा सदरमुकामलगायतका स्थानमा प्राण प्रतिष्ठाको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।