भन्सारबाट छुटेको ट्रकमा लुकाइएका २७ प्रकारका सामान भेटिए, जाँच प्रणालीमाथि प्रश्न
विराटनगर । विराटनगर भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको भारतीय मालवाहक ट्रकमा प्रज्ञापनपत्रमा उल्लेख नभएका २७ प्रकारका सामान भेटिएपछि भन्सारको जाँच प्रणालीमाथि प्रश्न उठेको छ।
साउन ३ गते भारतीय नम्बर बीआर ०१६ ए ३३४७ को ट्रक भन्सारबाट छुटेर गन्तव्यतर्फ जाँदै थियो। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रानीले ट्रक नियन्त्रणमा लिएर पुनः भन्सार कार्यालयमा बुझाएको थियो।
पुनः गरिएको परीक्षणमा प्रज्ञापनपत्रमा कपडा मात्रै उल्लेख भए पनि ट्रकभित्र जुत्ताचप्पल उत्पादनमा प्रयोग हुने सामग्री, आँखासम्बन्धी उपकरण, ब्युटी पार्लरका सामान तथा अन्य औद्योगिक सामग्री फेला परेको हो।
बरामद सामानमा सुज अपर, सुज इन्सोल, ननमेटल ड्रिलिङ मेसिन, फेस मिरर, लेन्स क्लिनर, लेजर पोइन्टर, आई ब्यान्डेज, टियर टेस्ट स्ट्रिप्स, फेस क्लिनर, वाक्स हिटर, मेकअप फिक्सर, फाउन्डेसन ब्रस, पेडिक्योर सामग्री, नेल टिप्स, कृत्रिम गहना, माछाको तेल, चारो र माछा मार्ने छडी लगायतका सामग्री रहेका छन्।
भन्सार कार्यालयका सूचना अधिकारी विमलदेव साह ले ट्रक नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पुष्टि गरेका छन्। उनका अनुसार अन्तिम प्रतिवेदन आउन बाँकी रहे पनि प्रारम्भिक रूपमा जाँचपास प्रक्रियामा त्रुटि देखिएको छ। त्रुटि कसरी भयो वा कर्मचारीको संलग्नता थियो वा थिएन भन्ने विषयमा भने अनुसन्धान भइरहेको उनले बताए।
घटनामा २९२ नम्बरका भन्सार एजेन्टमार्फत जाँचपास गरिएको र क्लियरिङ कम्पनीका प्रतिनिधि अकबर अली आफैँ आयातकर्तासमेत रहेको खुलेपछि थप चासो बढेको छ।
यता अकबर अलीले भने आफूबाट कुनै गल्ती नभएको दाबी गरेका छन्। उनका अनुसार यस्ता सामान्य कैफियत धेरै गाडीमा देखिने गर्छ र आफूलाई अनावश्यक रूपमा विवादमा तानिएको हो।
भन्सारले सामानको मुचुल्का उठाएर थप अनुसन्धान अघि बढाएको जनाएको छ। तर जाँचपासमा संलग्न कर्मचारीमाथि कुनै कारबाही प्रक्रिया सार्वजनिक नभएकाले भन्सारको जाँच प्रणाली र सम्भावित मिलेमतोबारे प्रश्न उठिरहेका छन्। अनुसन्धानपछि मात्रै वास्तविक तथ्य बाहिर आउने अपेक्षा गरिएको छ।
