नेपाल औषधि व्यवसायी संघ मोरङको अभिमुखीकरण : कुशल फार्मेसी अभ्यास र औषधि भण्डारणमा जोड, नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान
विराटनगर, मोरङ — नेपाल औषधि व्यवसायी संघ मोरङ शाखाले जिल्लाका औषधि व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले औषधिको समुचित प्रयोग, कुशल भण्डारण तथा बिक्री–वितरणसम्बन्धी एकदिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ। कार्यक्रमसँगै नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा संघद्वारा प्रकाशित नयाँ वर्षको भित्तेपात्रो (क्यालेन्डर) समेत विमोचन गरिएको थियो।
विराटनगरस्थित संघको आफ्नै भवनमा आइतबार आयोजित कार्यक्रम नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा जिल्लाभरिका औषधि व्यवसायी, कार्यसमिति सदस्य तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमकी प्रमुख अतिथि औषधि व्यवस्था विभाग विराटनगरकी निमित्त प्रमुख सचिता वर्माले औषधि व्यवसायीहरूलाई औषधिको समुचित प्रयोग, सुरक्षित बिक्री–वितरण र वैज्ञानिक भण्डारण प्रणालीमा विशेष ध्यान दिन आग्रह गरिन्। उनले समयसँगै औषधि क्षेत्रमा नयाँ प्रविधि, नियम र व्यवस्थापन प्रणाली विकसित भइरहेकाले व्यवसायीहरूले त्यसलाई आत्मसात गर्नु आवश्यक रहेको बताइन्।
उनले भनिन्, “अहिलेको मुख्य आवश्यकता भनेकै कुशल फार्मेसी अभ्यास, सुरक्षित औषधि भण्डारण तथा प्रभावकारी बिक्री–वितरण प्रणाली हो। औषधि बिक्री–वितरण संहिता २०८० कार्यान्वयनमा केही चुनौती देखिए पनि अब आधुनिक अभ्यासलाई पछ्याउनै पर्छ। गुणस्तरीय औषधि सेवा सुनिश्चित गर्न भण्डारण र वितरण प्रणालीमा सुधार ल्याउनु जरुरी छ।”
कार्यक्रममा औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी सुपरभाइजर दीपेन्द्र खड्काले प्राविधिक सहजीकरण गरेका थिए। उनले औषधि क्षेत्र अत्यन्त संवेदनशील र जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले तालिममा सिकिएका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागू गर्न व्यवसायीहरूलाई आग्रह गरे।
उनका अनुसार सही तापक्रममा औषधिको भण्डारण, म्याद तथा गुणस्तरको नियमित अनुगमन, तथा उपभोक्तालाई सही परामर्शसहित औषधि बिक्री गर्नु नै जिम्मेवार व्यवसायको आधार हो। उनले गलत भण्डारण वा असावधानीका कारण औषधिको प्रभावकारिता घट्न सक्ने भएकाले यस विषयमा विशेष सचेत रहनुपर्ने बताए।
कार्यक्रमका सभापति तथा संघका अध्यक्ष देशबन्धु ढकालले औषधि व्यवसायीहरू केवल व्यापारिक क्षेत्रका प्रतिनिधि मात्र नभई समाजप्रति उत्तरदायी सेवा प्रदायक भएको उल्लेख गरे। उनले व्यवसायीहरूको ज्ञान, सीप र व्यावसायिक मर्यादा अभिवृद्धि गर्न यस्ता तालिम नियमित रूपमा आयोजना गरिने जानकारी दिए।
उनले भने, “औषधि व्यवसायी केवल व्यापारमा सीमित छैनन्, हामी समाजप्रति पनि उत्तिकै जिम्मेवार छौं। हाम्रो उद्देश्य नाफा मात्र होइन, सामाजिक उत्तरदायित्व वहन गर्दै सुरक्षित र गुणस्तरीय औषधि सेवा प्रदान गर्नु हो।”
सो अवसरमा संघद्वारा प्रकाशित नयाँ वर्ष २०८३ को भित्तेपात्रो विमोचन गरिएको थियो। सहभागीहरूबीच नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै औषधि क्षेत्र थप व्यवस्थित, सुरक्षित र व्यवसायीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रममा नेपाल औषधि व्यवसायी संघका केन्द्रीय सदस्य प्रदीप दास, कोशी प्रदेश अध्यक्ष धनराज काफ्ले, महासचिव सवर्ण भगत श्रेष्ठ, सुनसरी महासचिव नवीन गौतम, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, मोरङ अध्यक्ष सुशीला पाठकलगायतले औषधि क्षेत्रका समसामयिक चुनौती, नियमन, व्यवसायीको भूमिका तथा सेवा प्रवाहका विषयमा आ–आफ्ना धारणा राखेका थिए।
कार्यक्रमको सञ्चालन संघका महासचिव अरुण कुमार ठाकुर ब्राह्मणले गरेका थिए। आयोजकका अनुसार यस्ता अभिमुखीकरण कार्यक्रमले औषधि व्यवसायीहरूलाई अद्यावधिक जानकारी दिनुका साथै जनस्वास्थ्य संरक्षणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
