मारवाडी सेवा सदन विराटनगरको रजत जयन्ती भव्य रूपमा सम्पन्न, ११ जना अग्रज सम्मानित

Logo
भोजराज घिमिरे बिहिबार, चैत्र २६, २०८२

मारवाडी सेवा सदन विराटनगरको रजत जयन्ती भव्य रूपमा सम्पन्न, ११ जना अग्रज सम्मानित
विराटनगर — सामाजिक सेवा र सामुदायिक विकासमा समर्पित मारवाडी सेवा सदन विराटनगरले आफ्नो स्थापना कालको २५ वर्ष पूरा गर्दै रजत जयन्ती समारोह भव्य रूपमा सम्पन्न गरेको छ। बुधबार आयोजित विशेष कार्यक्रममा सदनले ११ जना अग्रज तथा योगदानकर्तालाई सम्मान गर्दै आफ्नो गौरवपूर्ण यात्रालाई स्मरण गरेको हो।
सदनले ९ जना संस्थापक सदस्य, १ जना निवर्तमान अध्यक्ष र १ जना पूर्व अध्यक्षलाई सम्मान गरेको छ। सम्मानित हुने संस्थापक सदस्यहरूमा देवेन्द्र अग्रवाल (राजगढिया), सुरेशकुमार शर्मा, स्वर्गीय जगदिश राठी, स्वर्गीय महेन्द्र गोल्छा, स्वर्गीय महाविर तोदी, नन्दकिशोर राठी (मारुती सिमेन्ट), राजकुमार चैनवाला, महेश सिंघानिया र खेमचन्द जैन लालवानी रहेका छन्। त्यसैगरी, निवर्तमान अध्यक्ष देवकिनन्दन अग्रवाल र पूर्व अध्यक्ष ताराचन्द खेतानलाई पनि सम्मान गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ तथा सदनका अध्यक्ष नन्दकिशोर राठीले सम्मानित व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गरेका थिए।
यसै अवसरमा सदनद्वारा निर्माण गरिएको आधुनिक सुविधायुक्त ‘रजत मण्डप’ को उद्घाटन पनि प्रमुख अतिथि खापुङले गरेका थिए। रजत जयन्तीको स्मरणमा प्रकाशित स्मारिकाको समेत विमोचन गरिएको थियो।
समारोहमा बोल्दै अध्यक्ष नन्दकिशोर राठीले मारवाडी सेवा सदनको भवनसँगै जोडिएको ‘रजत मण्डप’ निर्माणले मारवाडी समुदायसँगै विराटनगरका अन्य क्षेत्रका नागरिकहरूलाई समेत विभिन्न कार्यक्रम आयोजना गर्न सहज भएको बताए। उनले सानो कार्यक्रमका लागि त्रिपाल प्रयोग गर्दा करिब दुई लाख रुपैयाँसम्म खर्च हुने गरेकोमा अब सोही कार्यक्रम करिब २५ हजार रुपैयाँमै मण्डप प्रयोग गरेर गर्न सकिने जानकारी दिए।
उनका अनुसार ९८ फिट लामो र ३७ फिट चौडाइ भएको आधुनिक संरचनायुक्त उक्त मण्डपमा विवाह, ब्रतबन्ध, सभा, गोष्ठी, धार्मिक प्रवचनलगायतका कार्यक्रम सहज रूपमा सञ्चालन गर्न सकिनेछ। यसले सामाजिक तथा सांस्कृतिक गतिविधिहरूलाई थप व्यवस्थित बनाउने विश्वास उनले व्यक्त गरे।
अध्यक्ष राठीले ‘सेवा नै धर्म हो’ भन्ने आदर्श र ‘परोपकार पुन्याय पापाय परमीडनम्’ भन्ने सनातन जीवनदर्शनलाई आत्मसात् गर्दै विराटनगरको मारवाडी समाज निस्वार्थ रूपमा मानव सेवामा निरन्तर समर्पित रहँदै आएको उल्लेख गरे। साथै, भावी पुस्ताले पनि अग्रजहरूको सेवाभाव, निष्ठा र समाज कल्याणको भावना आत्मसात् गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा पूर्व अध्यक्ष सुरेशकुमार शर्मा, पूर्व अध्यक्ष ताराचन्द खेतान तथा जानकी सेवा सदनका अध्यक्ष सुधीर तोदीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाको योगदानको प्रशंसा गरेका थिए।
समारोहमा उद्योगी व्यवसायी, सामाजिक अभियन्ता, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले मारवाडी सेवा सदनले विगत २५ वर्षदेखि समाजमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अगाडि बढ्न शुभकामना व्यक्त गरेका थिए।
मारवाडी सेवा सदन विराटनगरले शिक्षा, स्वास्थ्य, विपद् राहत तथा सामाजिक सेवाका विविध क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको संस्थाको रूपमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356