दलितमाथि विभेद अन्त्य गर्न मानव अधिकार रक्षक सञ्जाल सशक्त बनाउनुपर्नेमा जोड

Logo
भोजराज घिमिरे शनिबार, चैत्र २१, २०८२

दलितमाथि विभेद अन्त्य गर्न मानव अधिकार रक्षक सञ्जाल सशक्त बनाउनुपर्नेमा जोड
विराटनगर, चैत २१ — अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशका संयोजक मनोहर पोखरेलले समाजमा अझै पनि विभेदका घटनाहरू कायम रहेकाले मानव अधिकार रक्षकहरूको भूमिकालाई थप सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
इन्सेक र दलित महिला संघ (फेडो)को संयुक्त आयोजनामा शनिबार विराटनगरमा सम्पन्न “दलितमाथि विभेदको अवस्था र मानव अधिकार रक्षक सञ्जालको भूमिका” विषयक कार्यक्रममा बोल्दै पोखरेलले विभेद रहिरहेसम्म मानव अधिकार हननका घटना रोकिन नसक्ने बताउनुभयो। उहाँले यस्ता चुनौतीहरू सामना गर्न मानव अधिकार रक्षकहरूको सक्रियता र प्रभावकारिता बढाउनुपर्नेमा जोड दिनुभयो।
पोखरेलले राष्ट्रिय जनगणनाको तथ्याङ्क विश्लेषणले जातीय तथा लैङ्गिक विभेद अझै पनि गम्भीर समस्याका रूपमा रहेको देखाएको उल्लेख गर्नुभयो। उहाँका अनुसार मानव अधिकार रक्षकहरूले राज्यलाई प्रभावकारी कानुन तथा नीति निर्माण, पर्याप्त बजेट विनियोजन, स्पष्ट संरचना निर्माण तथा समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न पहल गर्नुपर्ने आवश्यकता छ।
कार्यक्रममा फेडोका कार्यक्रम संयोजक नरबहादुर आउजीले असमानता र विभेद कायम रहँदा समृद्धि र विकासको गति कमजोर हुने बताउनुभयो। राष्ट्रिय जनगणना २०७८ का आधारमा आर्थिक, सामाजिक तथा जनसाङ्ख्यिक अवस्थाको तुलनात्मक विश्लेषण प्रस्तुत गर्दै उहाँले केही समुदाय पछाडि पर्दा समग्र मुलुकको प्रगति र समृद्धि प्रभावित हुने धारणा राख्नुभयो।
इन्सेक कोशी प्रदेशका संयोजक मनोहर पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालका संयोजक देबी बास्कोटाले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्नुभएको थियो।
फेडो मोरङका अध्यक्ष शर्मिला परियारले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा सञ्जालका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356