बुढीगंगा गाउँपालिकामा प्रथम गोल्डकप–२०८२ आयोजना हुने
मोरङको बुढीगंगा गाउँपालिका ले प्रथम गोल्डकप–२०८२ आयोजना गर्ने भएको छ। आगामी चैत २१ देखि २७ गतेसम्म बुढीगंगा–२ स्थित अमाही खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगिता गाउँपालिकाले अहिलेसम्म आयोजना गरेको सबैभन्दा ठूलो तथा सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता हुने जनाइएको छ।
गोल्डकपको तयारीबारे जानकारी दिन गाउँपालिकाले बुधबार पत्रकार सम्मेलन आयोजना गरेको हो। प्रतियोगितामा आयोजक बुढीगंगा गाउँपालिकासहित सलहेस फुटबल क्लब सिरहा, राजारानी फुटबल क्लब धनकुटा, धरान फुटबल क्लब सुनसरी, चाल्सा फुटबल क्लब झापा, एएफसी काठमाडौं, नाइजेरियन फुटबल क्लब तथा कञ्चनजङ्घा फुटबल क्लब सिलगुडी (भारत) को सहभागिता रहने संयोजक तथा वडा नं. २ का वडाध्यक्ष रेवतीनारायण चौधरीले जानकारी दिनुभयो।
प्रतियोगिताको उद्घाटन खेल एएफसी काठमाडौं र सलहेस फुटबल क्लब सिरहाबीच हुने तय गरिएको छ। प्रतियोगितामा विजेता टोलीले ५ लाख रुपैयाँ तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, हाई स्कोरर लगायत विभिन्न विधामा पनि पुरस्कार प्रदान गरिनेछ।
गोल्डकप आयोजनाका लागि करिब ३९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। गाउँपालिकाले १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष अमृताकुमारी गच्छदारले जानकारी दिनुभयो। प्रतियोगिता सफल बनाउन विभिन्न संघसंस्था, उद्योगी व्यवसायी, छिमेकी स्थानीय तह तथा प्रदेश खेलकुद विकास बोर्डसँग सहयोगको अपिल गरिएको छ।
“तीन युग, तीन नेतृत्व: विगत, वर्तमान र स्थानीय नेतृत्वको सम्मान” भन्ने नारासहित आयोजना हुने प्रतियोगितामा प्रवेश निःशुल्क रहने बुढीगंगा युवा परिषद्का सदस्य सचिव कृष्ण भट्टराईले बताउनुभयो।
गाउँपालिकाले आफ्नै फुटबल टोली तयार गरी प्रतियोगिता आयोजना गर्न लागेको हो। पछिल्लो एक वर्षदेखि फुटबल, भलिबल, कबड्डी र डोरीतान जस्ता खेलका लागि नियमित अभ्यास सञ्चालन गरिँदै आएको छ। विपन्न समुदायका युवालाई लक्षित गर्दै प्रत्येक वडामा अभ्यास गराइएपछि ३२ सदस्यीय फुटबल टोली व्यवसायिक प्रतियोगितामा सहभागी हुन थालेको गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले जानकारी दिनुभयो।
खेलकुदमार्फत स्थानीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको अध्यक्ष थापाको भनाइ छ। सात दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष थापाले गर्ने कार्यक्रम रहेको छ।
