नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार मनोज कुमार अग्रवालद्वारा ९ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक
विराटनगर। मोरङ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मनोज कुमार अग्रवालले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै ९ बुँदे विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। आज आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको घोषणापत्रमा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पूर्वाधार, पर्यटन तथा सुशासनका विषयलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ।
इमानदार, शान्त स्वभावका, विकासप्रेमी तथा जनपक्षीय उम्मेदवारका रूपमा चिनिएका अग्रवालले आफ्नो विद्यार्थी जीवनदेखि नै पार्टी र जनताको पक्षमा सशक्त आवाज उठाउँदै आएको उल्लेख गर्दै मोरङका ६ निर्वाचन क्षेत्रमध्ये विकासका हिसाबले पछाडि परेको क्षेत्र नं. ५ लाई समग्र परिवर्तन र उत्थानतर्फ लैजान प्रतिबद्धतापत्र ल्याइएको बताए।
पूर्वाधार र सडक विकास
अग्रवालले रंगेली–विराटनगर जोड्ने हुलाकी मार्गलाई स्तरोन्नति गरी आधुनिक नमूना मार्गका रूपमा विकास गर्ने, चोप्राहा हुँदै दक्षिणी सीमासम्म नयाँ सडक निर्माण गर्ने तथा विराटराजाको दरबार, संसारीमाई र काली मन्दिर जोड्ने पर्यटन मार्ग निर्माणमा विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
त्यसैगरी विराटनगर महानगरपालिका वडा नं. १३–१८, जहदा, धनपालथान र रंगेलीका विभिन्न वडाभित्र पाँच वर्षभित्र कालोपत्रे सडक, ढल–नाला, विद्युत्, खानेपानी र टेलिफोन विस्तार गर्ने योजना रहेको छ। हरित वातावरणका लागि सडक किनारमा वृक्षरोपण अभियान सञ्चालन गर्ने तथा “क्षेत्रीय विकास तथा पुनःनिर्माण कोष” स्थापना गर्ने घोषणा गरिएको छ।
कृषि, सिँचाइ तथा तटबन्धन
विराटनगर–रंगेली क्षेत्र, विशेषगरी जहदा र धनपालथानलाई विशेष कृषि जोनका रूपमा विकास गर्ने योजना घोषणापत्रमा समेटिएको छ। किसानलाई सहुलियत दरमा मल–बिउ, औजार, किटनाशक उपलब्ध गराउने, डिपबोरिङ सिँचाइको व्यवस्था गर्ने तथा बक्राहा, चिसाङ, लोहन्द्रा, सिघिया र केशलिया खोलामा तटबन्ध निर्माण गरी बाढी नियन्त्रण गर्ने योजना सार्वजनिक गरिएको छ।
शिक्षा र स्वास्थ्य
क्षेत्रका सबै सामुदायिक विद्यालयको स्तरोन्नति, आधुनिक कम्प्युटर र इन्टरनेट सुविधा, प्रत्येक वडामा कम्तीमा एक नमूना विद्यालय विकास गर्ने योजना रहेको छ। रंगेलीको जनता क्याम्पस, जहदाको दुर्गा उच्च मावि र धनपालथानको सर्वोदय उच्च माविलाई स्तरोन्नति गर्ने प्रतिबद्धता जनाइएको छ।
स्वास्थ्यतर्फ रंगेली अस्पताललाई आधुनिक बनाउने, धनपालथान, जहदा र रानी क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, सबै वडामा प्राथमिक स्वास्थ्य चौकी स्थापना गर्ने र स्वास्थ्य बीमा कार्यक्रमलाई सर्वसुलभ बनाउने योजना उल्लेख गरिएको छ।
उद्योग, व्यापार र रोजगारी
विराटनगरको मिल्स एरियामा बन्द उद्योगहरू रहेको क्षेत्रलाई “विराट औद्योगिक क्षेत्र” घोषणा गरी नयाँ उद्योग स्थापना गर्ने, कृषि तथा रोजगारीमूलक उद्योग सञ्चालन गर्ने तथा युवा र महिलालाई निःशुल्क सीपमूलक तालिम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ। जहदा र धनपालथानलाई बाली पकेट क्षेत्र घोषणा गरी शीतभण्डारण र कृषि बजार निर्माण गर्ने योजना पनि समावेश छ।
धार्मिक, सांस्कृतिक तथा पर्यटन विकास
क्षेत्रका मठ–मन्दिर, मस्जिद, गुम्बा तथा चर्चहरूको पुनर्निर्माण र संरक्षण, सांस्कृतिक संग्रहालय स्थापना तथा धार्मिक–पर्यटन प्रवर्द्धनमार्फत आर्थिक गतिविधि बढाउने लक्ष्य अग्रवालले लिएका छन्।
सुशासन र सामाजिक प्रतिबद्धता
अग्रवालले शान्ति–सुरक्षा सुदृढीकरण, भ्रष्टाचार नियन्त्रण, पारदर्शी प्रशासन सञ्चालन, युवा–महिला–ज्येष्ठ नागरिकका लागि विशेष कार्यक्रम तथा अशक्त र विपन्न वर्गलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
समग्र विकासमार्फत मोरङ–५ लाई नमूना निर्वाचन क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित आफू अघि बढेको अग्रवालको भनाइ छ।
