५६औँ वार्षिकोत्सवमा मानवीय सहयोग: वालआदर्श माविलाई २ वाटर डिस्पेन्सर हस्तान्तरण
सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै सार्वजनिक सरोकार (Public Concern) को संयोजन तथा श्री इन्द्रेश्वर माध्यमिक विद्यालय २०५४ विद्यार्थी समूह का केही सहयोगी मनहरूको सहकार्यमा श्री वालआदर्श माध्यमिक विद्यालय लाई २ वटा वाटर डिस्पेन्सर प्रदान गरिएको छ।
विद्यालयको ५६औँ वार्षिकोत्सवको विशेष अवसर पारेर सम्पन्न उक्त कार्यक्रममा विद्यालय परिसरमै औपचारिक रूपमा सामग्री हस्तान्तरण गरिएको हो।
कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर श्रेष्ठ रहेका थिए भने प्रमुख अतिथिका रूपमा रामशरण भण्डारी (मेयर, पनौती नगरपालिका) को उपस्थिति रहेको थियो। विशिष्ट अतिथिका रूपमा काठमाडौं विश्वविद्यालय का विम श्रेष्ठ, रोटरियन मधुसुदन गुरागाईं, ‘फ्रिडम टु लर्न’ का श्रीकृष्ण थापा, सार्वजनिक सरोकारकी काभ्रेपलाञ्चोक जिल्ला संयोजक सरस्वती कणेल लगायत वडाका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति सदस्य, शिक्षक–अभिभावक संघका प्रतिनिधि, अभिभावक, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सभ्य र भव्य वातावरणमा सम्पन्न कार्यक्रममा वक्ताहरूले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा यस्ता सहयोगले सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा विशेष निमन्त्रणा तथा सम्मानका लागि विद्यालयका प्रधानाध्यापक रविन तामाङप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिएको छ।
सहयोगकर्ताहरूले यो अभियान सुरुवात मात्र भएको उल्लेख गर्दै विद्यालयको उन्नति र प्रगतिका लागि आगामी दिनमा पनि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। “सहयोग सुरूवात हो, अन्त्य होइन,” भन्ने सन्देशसहित सार्वजनिक सरोकारले समयानुकूल र जिम्मेवार भूमिका निर्वाह गर्दै जाने स्पष्ट पारेको छ।
इन्द्रेश्वर मावि २०५४ समूहका सम्पूर्ण सहयोगी मनहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै सबैको निरन्तर उन्नति र प्रगतिका लागि शुभकामना पनि प्रकट गरिएको छ।
