कोशी प्रदेश सहकारी संघको पाँचौँ साधारणसभा सम्पन्न, डा. डिल्ली पोखरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन
विराटनगर । कोशी प्रदेश सहकारी संघ लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा तथा अधिवेशन मंगलबार विराटनगरमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले डा. डिल्ली पोखरेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति सर्वसम्मत रूपमा चयन गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेलले साधारणसभाको उद्घाटन गर्दै सहकारी क्षेत्रमा देखिएका वर्तमान चुनौतीहरूको समाधानका लागि नेतृत्व तहबाट स्पष्ट दृष्टिकोण र इमानदार पहल आवश्यक रहेको बताए।
उनले सहकारीलाई केवल बचत र ऋणमा सीमित नराखी उत्पादन, उद्यमशीलता र रोजगारीसँग जोड्न सके मात्र प्रदेशको आर्थिक समृद्धिमा सहकारीले प्रभावकारी भूमिका खेल्न सक्ने उल्लेख गरे।
अधिवेशनबाट आगामी कार्यकालका लागि ११ सदस्यीय सञ्चालक समिति चयन भएको छ। समितिको अध्यक्षमा डा. डिल्ली पोखरेल, वरिष्ठ उपाध्यक्षमा खगेन्द्रप्रसाद सुवेदी, उपाध्यक्षमा शारदा थापामगर, सचिवमा युवराज भट्टराई र सहसचिवमा टामन सिग्देल निर्वाचित भएका छन्।
त्यसैगरी सञ्चालक सदस्यहरूमा फौद सुवेदी, अनुराज पाठक, विश्वनाथ पराजुली, गंगाप्रसाद दाहाल, शरणकुमार पराजुली र डुफ बास्तोला चयन भएका छन्।
लेखा सुपरिवेक्षण समिति पनि सर्वसम्मत
संघको लेखा सुपरिवेक्षण समिति संयोजकमा खोमप्रसाद बगाले चयन भएका छन् भने सदस्यहरूमा लक्ष्मीनारायण चौधरी र पार्वती बराल रहेका छन्।कार्यक्रममा कोशी प्रदेशका सबै जिल्लाबाट सहकारीकर्मी, प्रतिनिधि र सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सहकारीलाई विश्वासयोग्य र उत्पादनमुखी बनाउने लक्ष्य – उपाध्यक्ष शारदा थापामगर
नवनिर्वाचित उपाध्यक्ष शारदा थापामगरले कुरा गर्दै सहकारी क्षेत्रप्रति आम नागरिकमा देखिएको अविश्वास हटाउनेतर्फ नयाँ नेतृत्व केन्द्रित रहने बताइन्।
उनले भनिन्, “सहकारी भनेको केवल बचत र ऋणको कारोबार मात्रै होइन, यसलाई उत्पादन, रोजगारी र आत्मनिर्भर अर्थतन्त्रसँग जोड्नु आजको आवश्यकता हो।”
थापामगरले प्रदेशभरिका सहकारी संस्थाहरूलाई एउटै मापदण्डमा सञ्चालन गराउन संघले सहजीकरण गर्ने बताउँदै पारदर्शिता, सुशासन र सदस्यको हितलाई प्राथमिकतामा राखिने स्पष्ट पारिन्।
उनका अनुसार सहकारीमार्फत कृषि, साना उद्योग, महिला तथा युवालाई लक्षित कार्यक्रमहरू अघि बढाइने योजना संघसँग छ।
संघलाई साझा अभिभावक बनाउने प्रतिबद्धता
नवनिर्वाचित अध्यक्ष डा. डिल्ली पोखरेलले प्रदेशभरिका सहकारी संस्थाहरूको साझा अभिभावकीय भूमिका निर्वाह गर्दै संघलाई अझ सशक्त, अनुशासित र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरे।
