कोशी प्रदेशमा उद्योग–व्यवसाय सहकार्य विस्तारका लागि ‘कोशी कनेक्ट’ व्यावसायिक मिशन सञ्चालन हुँदै

Logo
भोजराज घिमिरे बिहिबार, माघ ०२, २०८२

कोशी प्रदेशमा उद्योग–व्यवसाय सहकार्य विस्तारका लागि ‘कोशी कनेक्ट’ व्यावसायिक मिशन सञ्चालन हुँदै
विराटनगर।
कोशी प्रदेशको औद्योगिक विकास र क्षेत्रीय व्यवसायबीचको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले उद्योग संगठन मोरङले माघ २ गतेदेखि ४ गतेसम्म तीन दिने ‘कोशी कनेक्ट’ व्यावसायिक मिशन सञ्चालन गर्ने भएको छ।
औद्योगिक विकास, क्षेत्रीय सहकार्य तथा व्यवसाय–व्यवसाय (बीटुबी) बीच आपसी सम्बन्ध अभिवृद्धि गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने लक्ष्यसहित यो मिशन सुरु गर्न लागिएको संगठनले जनाएको छ। मिशन अन्तर्गत उद्योग संगठन मोरङको प्रतिनिधि मण्डलले उदयपुर, खोटाङ र भोजपुर जिल्लाको भ्रमण गर्दै स्थानीय उद्योगी–व्यवसायीहरूसँग अन्तरक्रिया गर्नेछ। भ्रमणका क्रममा स्थानीय उद्योग, व्यवसायिक अवस्था, लगानीका सम्भावना तथा सहकार्यका अवसरबारे छलफल हुनेछ।
प्रतिनिधि मण्डलमा संगठनका अध्यक्ष नन्दकिशोर राठी, निवर्तमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्षहरू सुरेन्द्र गोल्छा, विपिन कावरा र सुवोध कोइराला, कोषाध्यक्ष पारस लुनिया सहित कार्यसमिति सदस्यहरू सौरभ सारडा, विरेन्द्र राठी, दिपक अग्रवाल, सन्तोष भगत, सिद्धार्थ कावरा, किरण ब्यास, पारस गोल्छा, उकेश अग्रवाल रहेका छन्। साथै उद्यमी निर्मल कोचर, महिला उद्यमी प्रतिभा पौडेल निरौला, साबित्रा ढकाल, विमला थापा, मयुषा, युवा उद्यमी रोमन कट्टेल, सागरराज ढुंगाना र संगठनका महानिर्देशक चुडामणि भट्टराई पनि प्रतिनिधि मण्डलमा समावेश छन्।
संगठनका अध्यक्ष नन्दकिशोर राठीका अनुसार यो व्यावसायिक मिशनले क्षेत्रीय व्यापार सुदृढीकरण, स्थानीय उत्पादनको प्रवर्द्धन तथा साझा समृद्धिको मार्ग निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। उनले निजी क्षेत्रको अग्रणी संस्थाका रूपमा उद्योग संगठन मोरङले पहाड र तराईलाई साझा विकासको यात्रामा अघि बढाउँदै व्यवसाय–व्यवसायबीच सम्बन्ध विस्तार, ज्ञान तथा विचार आदान–प्रदान र आर्थिक एजेन्डामा साझा आवाज निर्माण गर्ने लक्ष्य राखेको बताए।
अध्यक्ष राठीले कोशी प्रदेश सरकारले सञ्चालनमा ल्याएको ‘कोशी पर्यटन वर्ष २०८२’ अभियानलाई समर्थन गर्दै निजी क्षेत्रको नेतृत्वमा पर्यटन प्रवर्द्धन, क्षेत्रीय सम्बन्ध विस्तार र आपसी सहकार्यलाई थप मजबुत बनाउन पनि यो मिशन सहयोगी हुने उल्लेख गरे।
‘कोशी कनेक्ट’ व्यावसायिक मिशनमार्फत अन्तरजिल्ला व्यापारिक सञ्जाल तथा साझेदारी स्थापना, लगानी र व्यापारका अवसरहरूको प्रवर्द्धन, ‘मेरो देश मेरै उत्पादन’ अभियानमार्फत स्वदेशी उत्पादनको बजार विस्तार, बीटुबी प्लेटफर्मद्वारा व्यवसायलाई भर्चुअल रूपमा जोड्ने, उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा आर्थिक एजेन्डामा साझा धारणा निर्माण गर्ने लक्ष्य राखिएको संगठनले जनाएको छ।
कार्यक्रम अन्तर्गत माघ २ गते त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाट, माघ ३ गते खोटाङ उद्योग वाणिज्य संघ र माघ ४ गते भोजपुर उद्योग वाणिज्य संघका प्रतिनिधि तथा स्थानीय उद्योगी–व्यवसायीहरूसँग बीटुबी तथा सहकार्यका विविध आयामबारे अन्तरक्रिया गरिनेछ। यस व्यावसायिक मिशनले कोशी प्रदेशका निजी क्षेत्रबीच साझा विकास र दीगो व्यवसायिक साझेदारीलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास उद्योग संगठन मोरङले लिएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356