नेपाल रिपब्लिक मिडियामा नेतृत्व परिवर्तन, अध्यक्षमा शोभा ज्ञवाली चयन

Logo
भोजराज घिमिरे बिहिबार, माघ ०२, २०८२

नेपाल रिपब्लिक मिडियामा नेतृत्व परिवर्तन, अध्यक्षमा शोभा ज्ञवाली चयन
काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडमा औपचारिक रूपमा नेतृत्व परिवर्तन भएको छ। बुधबार काठमाडौंमा सम्पन्न पाँचौं वार्षिक साधारणसभापछि बसेको सञ्चालक समिति बैठकले शोभा ज्ञवालीलाई अध्यक्षमा चयन गरेको हो।
साधारणसभाले पाँच सदस्यीय सञ्चालक समिति चयन गरेको छ, जसमा शोभा ज्ञवाली, बालकृष्ण अधिकारी, मदन अर्याल र श्रीधर पोखरेल रहेका छन्। यसअघि नै कार्यकाल बाँकी रहेका रोमनाथ घिमिरेले समितिमा निरन्तरता पाएका छन्।
चार दशकभन्दा लामो समय मिडिया क्षेत्रमा नेतृत्व सम्हालेका विनोदराज ज्ञवालीले अध्यक्ष पदबाट बाहिरिँदै बदलिँदो राजनीतिक, सामाजिक र डिजिटल परिस्थितिमा नेतृत्व हस्तान्तरण अपरिहार्य भएको स्पष्ट सन्देश दिए। उनले पारदर्शिता, निष्पक्षता र नागरिकलाई सुसूचित गर्ने पत्रकारिताबाट नेपाल रिपब्लिक मिडिया कहिल्यै विचलित नभएको दाबी गरे।
निवर्तमान अध्यक्ष ज्ञवालीले मिडियाको स्थापना काल सम्झँदै कार्यालयसमेत नहुँदा पाँचतारे होटलबाटै काम सुरु गरिएको, पहिलो दिनदेखि नै कर्मचारीलाई पारिश्रमिक दिएर संस्था अगाडि बढाइएको खुलासा गरे। भूकम्प, नाकाबन्दी, कोभिड–१९ महामारीदेखि पछिल्ला जेनजी आन्दोलनसम्मका संकटपूर्ण अवस्थाहरूमा पनि मिडियाले राष्ट्रिय दायित्वबाट पछि नहटेेको उनले बताए।
नेतृत्व हस्तान्तरणको क्षणमा सञ्चालक र सेयरधनीहरूले निवर्तमान अध्यक्ष ज्ञवालीलाई दोसल्ला ओढाएर र माला लगाइ सम्मान व्यक्त गरे, जसलाई संस्थागत निरन्तरताको संकेतका रूपमा हेरिएको छ।
नवनिर्वाचित अध्यक्ष शोभा ज्ञवालीले नेपाल रिपब्लिक मिडिया कुनै साधारण कम्पनी नभई सार्वजनिक उत्तरदायित्व बोकेको संस्था भएको उल्लेख गर्दै समाजको अपेक्षा र राष्ट्रको हितलाई केन्द्रमा राखेर नेतृत्व गर्ने अडान व्यक्त गरिन्। उनले सञ्चालक समिति र सेयरधनीले दिएको जिम्मेवारी विश्वासको परीक्षा भएको भन्दै त्यसमा खरो उत्रिने प्रतिबद्धता जनाइन्।
मिडिया उद्योग निरन्तर दबाब, चुनौती र परिवर्तनको घेरामा रहेको सन्दर्भमा नेपाल रिपब्लिक मिडियाको नयाँ नेतृत्व कति प्रभावकारी हुन्छ भन्ने विषय अब सार्वजनिक परीक्षणमा जाने स्पष्ट भएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356