लौकही गोलीकाण्डपछि सशस्त्र प्रहरीमा ठूलो हेरफेर ३६ जना प्रहरी तानिए, एसपीसहित गण नै खाली

Logo
Red FM आइतबार, पुष २७, २०८२

लौकही गोलीकाण्डपछि सशस्त्र प्रहरीमा ठूलो हेरफेर
३६ जना प्रहरी तानिए, एसपीसहित गण नै खाली
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालक विजय साहको मृत्यु भएको घटनाले सशस्त्र प्रहरी बलभित्र ठूलो तरंग पैदा गरेको छ। घटनापछि जवाफदेहिता र अनुशासनमाथि गम्भीर प्रश्न उठेपछि सशस्त्र प्रहरी बलले व्यापक हेरफेर गरेको छ।
सशस्त्र प्रहरी बलको ४ नम्बर गण, सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सहित बोडर आउट पोस्ट लौकहीमा कार्यरत सबै ३६ जना सशस्त्र प्रहरीलाई एकैपटक तानिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
घटना के हो ?
लौकही नाकाक्षेत्रमा सशस्त्र प्रहरीको चेकजाँचका क्रममा भएको विवादपछि चलाइएको गोली लागेर सिटी सफारी चालक विजय साहको घटनास्थलमै मृत्यु भएको थियो। सर्वसाधारण नागरिकको ज्यान जाने गरी भएको घटनाले स्थानीयस्तरमै होइन, राष्ट्रियस्तरमा समेत चर्को आलोचना जन्माएको छ।
उच्चस्तरीय छानबिनको तयारी
घटनापछि सशस्त्र प्रहरी मुख्यालयले घटनाको निष्पक्ष छानबिनका लागि छुट्टै टोली गठन गर्ने तयारी गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा ड्युटीमा रहेका सुरक्षाकर्मीको लापरवाही, शक्ति दुरुपयोग र कार्यविधि उल्लङ्घन भएको आशंका गरिएको छ।
पीडित परिवारको आक्रोश
विजय साहको मृत्युपछि पीडित परिवार र स्थानीयवासीले दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै विरोध जनाइरहेका छन्। स्थानीयले सुरक्षाकर्मीको व्यवहारप्रति गम्भीर प्रश्न उठाउँदै नागरिकको सुरक्षाकै नाममा ज्यान लिनु अस्वीकार्य भएको बताएका छन्।
सशस्त्र प्रहरीको छवि संकटमा
पछिल्लो समय सीमाक्षेत्रमा हुने गतिविधिमा कडाइ बढाइरहेको सशस्त्र प्रहरी बलका लागि यो घटना छविमा गम्भीर धक्का सावित भएको छ। नागरिकमाथि गोली चल्ने अवस्था किन आयो भन्ने विषयमा सरकार र गृह मन्त्रालयसमेत दबाबमा परेका छन्।
घटनाको पूर्ण सत्यतथ्य सार्वजनिक नभएसम्म सशस्त्र प्रहरी बलप्रति उठेका प्रश्नहरू झन् तीव्र हुने संकेत देखिएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356