राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती आज, देशभर विविध कार्यक्रम
काठमाडौँ । आधुनिक नेपालको एकीकरणका महान् नायक तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ।
वि.सं. १७७९ मा जन्मिनुभएका शाहको योगदानको स्मरण गर्दै आज सिंहदरबार पश्चिम ढोकाअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको छ। यसैगरी, नेपाली सेनाले सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गर्दै सम्मान प्रकट गरेको छ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक साथ र सहभागितामा छरिएर रहेका बाइसे–चौबीसे राज्यलाई एकीकृत गर्दै आधुनिक नेपालको आधार निर्माण गरेका थिए। २० वर्षको उमेरमै गद्दी आरोहण गरेका शाहले आन्तरिक तथा बाह्य शक्तिलाई पराजित गर्दै एकीकरण अभियान अघि बढाएका थिए।
वि.सं. १८३१ मा ५२ वर्षको उमेरमा निधन भएका शाहको एकीकरण अभियानले नेपालको राष्ट्रिय स्वाधीनता, अखण्डता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने मजबुत आधार तयार गर्यो। यही कारण नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये एकका रूपमा स्थापित हुन सफल भएको हो।
पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चियापान समारोहको आयोजना गरेको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ। शाहको जन्मस्थल गोरखामा पनि हरेक वर्ष विशेष कार्यक्रम आयोजना गरिँदै आएको छ।
यस दिवसले साझा इतिहास, संस्कृति र गौरवको स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सुदृढ बनाउने सन्देश दिन्छ। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनुपर्ने सन्देश यस दिवसले प्रवाह गर्दछ, जुन सशक्त, समावेशी र समुन्नत राष्ट्र निर्माणको आधार हो।
युवापुस्तामा मातृभूमिप्रति समर्पण, सेवा र जिम्मेवारीको भावना जागृत गर्न पृथ्वी जयन्तीको विशेष महत्व रहेको छ। शाहले दिएका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ जस्ता दिव्योपदेश आज पनि भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका सन्दर्भमा उत्तिकै समयसान्दर्भिक छन्।
भौगोलिक अवस्थालाई ध्यानमा राख्दै नेपाललाई ‘दुई ढुङ्गाबीचको तरुल’को संज्ञा दिएका शाहको दूरदृष्टि आज पनि राष्ट्रिय नीति र कूटनीतिमा मार्गदर्शक बनेको छ। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उपराष्ट्रपति, सभामुख, विभिन्न राजनीतिक दलका नेता तथा राष्ट्रका विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश व्यक्त गरेका छन्।
