दुहबी नगरपालिकाको १८औँ नगरसभा सम्पन्न, न्यून राजस्व संकलनले विकासमा चुनौती

Logo
भोजराज घिमिरे बिहिबार, पुष २४, २०८२

दुहबी नगरपालिकाको १८औँ नगरसभा सम्पन्न, न्यून राजस्व संकलनले विकासमा चुनौती
सुनसरी ।
सुनसरीको दुहबी नगरपालिकाको १८औँ नगरसभा सम्पन्न भएको छ। नगरप्रमुख वेदनारायण गच्छदारको अध्यक्षतामा सम्पन्न उक्त नगरसभामा उपप्रमुख मेनुका खतिवडा, वडा नं. १ देखि १२ सम्मका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे, जनप्रतिनिधि, विभिन्न शाखाका कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख गच्छदारले जेन–जी आन्दोलनका क्रममा दुहबी नगरपालिकाको प्रशासनिक भवनमा पुगेको क्षतिका कारण नगरपालिकाले ठूलो नोक्सानी बेहोर्नु परेको बताए। आन्दोलनका कारण देशव्यापी रूपमा अकल्पनीय क्षति पुगेको र त्यसपछि गठन भएको नयाँ सरकारले पुनर्निर्माण तथा आगामी निर्वाचनलाई प्राथमिकता दिँदै बजेट कटौती गरेकाले अपेक्षित रूपमा विकास निर्माणका कामलाई तीव्रता दिन कठिनाइ भएको उनको भनाइ थियो।
चालु आर्थिक वर्षमा अपेक्षित राजस्व संकलन हुन नसक्दा नगरपालिका थप संकटमा पर्न सक्ने जोखिम औँल्याउँदै नगरप्रमुख गच्छदारले आन्तरिक स्रोत वृद्धि गर्न सम्पूर्ण कार्यपालिका सदस्य र कर्मचारीहरू एकमत भएर अघि बढ्न आग्रह गरे। चालु आर्थिक वर्षमा राजस्व संकलनतर्फ ३२ करोड ४ लाख रुपैयाँ लक्ष्य राखिएको भए पनि हालसम्म ३ करोड ५९ लाख २२ हजार ३ सय १८ रुपैयाँ मात्र संकलन भएको जानकारी उनले दिए।
त्यस्तै, प्रदेश सरकारबाट राजस्व बाँडफाँडबापत प्राप्त हुनुपर्ने १ करोड ४ लाख रुपैयाँमध्ये हालसम्म ३० लाख ९७ हजार रुपैयाँ मात्र आएको तथा संघीय सरकारबाट प्राप्त हुनुपर्ने ११ करोड ७२ लाख रुपैयाँमध्ये ५ करोड १ लाख १४ हजार रुपैयाँ मात्रै प्राप्त भएको नगरसभामा जानकारी गराइयो। स्थानीय राजस्व, प्रदेश तथा संघीय राजस्व बाँडफाँड र वित्तीय समानीकरणको रकम अपेक्षाअनुसार नआउँदा विकास निर्माणका कार्य प्रभावित हुन सक्ने भएकाले आन्तरिक राजस्व संकलनमा तीव्रता दिनुपर्ने आवश्यकता नगरप्रमुखले जोड दिए।
नगरप्रमुख गच्छदारले प्रस्तुत गरेका आर्थिक वर्ष २०८२/८३ का विभिन्न प्रस्तावहरू नगरसभाबाट सर्वसम्मत पारित भएका छन्। जनताको न्यूनतम आवश्यकता मध्यनजर गर्दै रोजगार र सीपमूलक कार्यक्रमहरू थप विस्तार गर्ने तथा भैपरी आउने पूँजीगत शीर्षकमा कटौती भएको रकम पुनः व्यवस्थापन गरिएको उनले बताए।
नगर अस्पताललाई जनमुखी र गुणस्तरीय सेवामुखी बनाउन निर्देशन दिँदै नगरप्रमुख गच्छदारले कर्मचारी र चिकित्सकहरूले कन्जुस्याइ नगरी न्यायोचित सेवा प्रवाह गर्नुपर्ने बताए। सेवाग्राहीलाई हेप्ने, अवमूल्यन गर्ने वा अनावश्यक झन्झट दिने कार्य गरेमा कसैलाई पनि क्षम्य नदिइने चेतावनी उनले दिए।
नगरसभामा स्वागत मन्तव्य दिँदै उपप्रमुख मेनुका खतिवडाले आर्थिक वर्ष २०८२/८३ का कार्यप्रगति र कार्यविवरणहरू प्रस्तुत गरिन्। न्यायिक समितिमा मुद्दा दर्ताको क्रम बढ्दो रहेको उल्लेख गर्दै उनले न्यायिक कार्यसम्पादन प्रभावकारी बनाउन कर्मचारी र जनप्रतिनिधिबीच सहकार्य अझ सुदृढ हुनुपर्ने आवश्यकता औँल्याइन्।
१८औँ नगरसभाको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले गरेका थिए।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356