सहकारी मोरङमा नयाँ सत्ता संरचना जिल्ला सहकारी संघको ३३औँ साधारणसभा भव्य, राकेश दाहालको अध्यक्षतामा नयाँ नेतृत्व

Logo
भोजराज घिमिरे बुधबार, पुष २३, २०८२

सहकारी मोरङमा नयाँ सत्ता संरचना
जिल्ला सहकारी संघको ३३औँ साधारणसभा भव्य, राकेश दाहालको अध्यक्षतामा नयाँ नेतृत्व
विराटनगर । जिल्ला सहकारी संघ लिमिटेड मोरङको ३३औँ वार्षिक साधारणसभा विराटनगरस्थित श्रीकृष्ण होटलमा भव्य रूपमा सम्पन्न भएको छ । साधारणसभाबाट राकेश दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएसँगै संघको नेतृत्व संरचना औपचारिक रूपमा फेरिएको छ ।
संघका अध्यक्ष डा. डिल्ली पोखरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी रहनु भएको थियो । कार्यक्रममा कोशी प्रदेश अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर थापा विशिष्ट अतिथि रहनु भएको थियो ।
सहकारी क्षेत्र संकटमा ? सुधारको कडा सन्देश
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले सहकारी क्षेत्रमा देखिएका समस्या, विश्वास संकट र व्यवस्थापन कमजोरीप्रति कडा टिप्पणी गरेका थिए । राष्ट्रिय सहकारी महासंघका सञ्चालक छत्रप्रसाद रिमाल, योगमाया सुवेदी, नेफ्स्कुनका सञ्चालक लक्ष्मी सापकोटा तथा कोशी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरी सुवेदीले पारदर्शिता, जवाफदेहिता र अनुशासन बिना सहकारी जोगिन नसक्ने स्पष्ट सन्देश दिएका थिए ।
निर्विरोध नेतृत्व चयन, सपथग्रहण तत्काल
साधारणसभाले सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई निर्विरोध निर्वाचित गरेको हो । नयाँ अध्यक्ष राकेश दाहाल यसअघि संघका सचिवका रूपमा सक्रिय थिए । निर्विरोध चयनसँगै नवनिर्वाचित पदाधिकारीहरूले बुधबार नै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद भट्टराई, उपाध्यक्षमा संगीता दाहाल, सचिवमा अमृतबहादुर गुरुङ, सहसचिवमा हेरम्बराज भट्टराई र कोषाध्यक्षमा ई. कमलेश्वर ठाकुर सर्वसम्मत चयन भएका छन् ।
१० लाखभन्दा बढी खुद नाफा, १ करोडभन्दा बढी ऋण लगानी
साधारणसभामा अध्यक्ष डा. डिल्ली पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संघले आर्थिक वर्ष २०८१/८२ मा ३७ लाख ४१ हजार ५४२ रुपैयाँको कारोबार गर्दै १० लाख ८२ हजार ३५४ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संघको सेयर पूँजी ४१ लाख रुपैयाँ नाघेको छ भने १ करोड ३१ लाख रुपैयाँभन्दा बढी ऋण लगानी रहेको तथ्य सार्वजनिक गरिएको छ ।
सहकारी अभियानमा प्रभावशाली सहभागिता
साधारणसभामा पूर्व सहकारी रजिस्ट्रारदेखि राष्ट्रिय सहकारी बैंकसम्मका उच्च तहका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । पूर्व रजिस्ट्रार हरीबहादुर खत्री, नेफ्स्कुनका पूर्व सञ्चालक गोमा नेपाल सापकोटा, सल्लाहकारहरू ताराबहादुर काफ्ले, रामचन्द्र गौतम, डा. उद्धव पोखरेल, बिरेन्द्र यादव, अधिवक्ता राजेश सुब्बालगायतले सहकारी अभियानलाई सदस्यमुखी र जवाफदेही बनाउने विकल्प बाहेक अर्को बाटो छैन भन्ने धारणा राखे ।
कार्यक्रममा जिल्ला बचत, उपभोक्ता र बहुउद्देश्यीय सहकारी संघका अध्यक्षहरू, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य, राष्ट्रिय सहकारी बैंकका प्रदेश तथा शाखा प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो ।
अब के गर्छ नयाँ नेतृत्व ?
नयाँ समितिले सहकारी संघलाई पारदर्शिता, सुशासन र आर्थिक अनुशासनको मार्गमा लैजाने प्रतिबद्धता जनाएको छ । सहकारी क्षेत्रमाथि बढ्दो प्रश्न र आलोचनाबीच मोरङ जिल्ला सहकारी संघको नयाँ नेतृत्वबाट ठोस कामको अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356