कोशी अस्पतालमा फेरि कुर्सी हेरफेर !
१५ महिनामै मेसु फेरे, डा. रामनारायण चौधरी नियुक्त
विराटनगर । कोशी अस्पतालमा फेरि एकपटक नेतृत्व हेरफेर गरिएको छ । स्वास्थ्य सेवाको मेरुदण्ड मानिने मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा पुनः परिवर्तन गर्दै बरिष्ठ चिकित्सक डा. रामनारायण चौधरीलाई नियुक्त गरिएको छ ।
वर्तमान मेसु डा. रुणा झा १५ महिना मात्र कार्यकाल सम्हालेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकका रूपमा काठमाडौं फर्किएकी छन् । कोशी अस्पतालमा यसअघि पनि मेसुहरू पटक–पटक फेरिँदै आएका थिए, जसले अस्पतालको व्यवस्थापन र सेवा प्रवाहमाथि गम्भीर प्रश्न उठाउँदै आएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमको मन्त्रीस्तरीय निर्णयबाट मेसु परिवर्तन गरिएको अस्पताल प्रशासन स्रोतले पुष्टि गरेको छ । ११औं तहका अनुभवी वरिष्ठ चिकित्सक डा. चौधरी यसअघि कोशी अस्पतालमै प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन (बाल रोग विशेषज्ञ) का रूपमा कार्यरत थिए ।
नेतृत्व अस्थिरताले ग्रस्त कोशी अस्पतालमा नयाँ मेसु नियुक्ति समाधानको संकेत हो कि फेरि अर्को अस्थायी अध्याय ? अस्पतालभित्रको बारम्बारको कुर्सी फेरबदलले सेवाग्राही र कर्मचारी दुवैमा अन्योल बढाएको छ । अब डा. चौधरीको कार्यकालले सुधार ल्याउने हो वा पुरानै नियति दोहोरिने हो, त्यो भने हेर्न बाँकी छ ।
