कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन आजै सम्भावित
मुख्यमन्त्री कार्की अपरान्ह विराटनगर आउँदै, ४ बजे सपथको तयारी
विराटनगर । कोशी प्रदेश सरकारको बहुप्रतिक्षित मन्त्रिपरिषद् पुनर्गठन अन्ततः नजिक पुगेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्की काठमाडौंमै राजनीतिक दौडधुपमा व्यस्त रहेकाले ढिलाइ हुँदै आएको पुनर्गठन आज मंगलबार अपरान्ह विराटनगर आएलगत्तै हुने प्रबल सम्भावना रहेको उच्च स्रोतले जनाएको छ ।
सत्ता साझेदार नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरूले पटक–पटक घोषणा हुँदै रोकिँदै आएको मन्त्रिपरिषद् पुनर्गठन अब टुंगोमा पुगेको दाबी गरेका छन् । मुख्यमन्त्री कार्कीले मन्त्री नियुक्त हुने एमालेका सांसदहरूलाई पहिले नै विराटनगर बोलाइसकेको जनाइएको छ ।
हुस्सुले रोकेको उडान, सपथ अपरान्ह
बाक्लो हुस्सुका कारण मंगलबार बिहानदेखि विराटनगर विमानस्थलबाट उडान हुन नसक्दा मुख्यमन्त्री कार्की बिहानै विराटनगर आउन सकेनन् । उनी अपरान्ह आइपुग्नेबित्तिकै एमाले संसदीय बोर्डको बैठक बस्ने र अपरान्ह करिब ४ बजेतिर नयाँ मन्त्रीहरूको सपथ ग्रहण गराउने तयारी रहेको स्रोतको भनाइ छ ।
कांग्रेस नेताहरूले पनि मंगलबार नै नयाँ मन्त्रीहरूको सपथ हुने आन्तरिक तयारी पूरा भइसकेको बताएका छन् ।
यसअघि अन्तिम समयमा रोकिएको थियो
यसअघि पुस १८ गते शुक्रबार नै वर्तमान मन्त्रीहरूलाई बिदा गरेर नयाँ मन्त्रीहरूलाई सपथ गराउने तयारी अन्तिम समयमा कांग्रेस केन्द्रको आन्तरिक विवादका कारण रोकिएको थियो । केन्द्रको विवाद मिलेसँगै अब मन्त्री हेरफेर हुने नेताहरूको दाबी छ ।
मन्त्रालय नफेरिने, अनुहार फेरिने
एमाले र कांग्रेस दुवै दलले हाल सम्हालिरहेका मन्त्रालयहरू यथावत् राख्दै मन्त्री मात्रै परिवर्तन गर्ने सहमति गरेका छन् । दुवै दलबाट मन्त्री बन्नेहरूको सूची तयार भइसकेको स्रोतले जनाएको छ ।
एमालेबाट चार मन्त्री
एमालेबाट मन्त्री बन्ने आकांक्षीको सूचीमा ६ जनाको नाम रहे पनि चार जना मात्रै मन्त्री बन्नेछन् ।
मन्त्री बन्ने लगभग निश्चित नामहरूमा
बिदुरकुमार लिङ्थेप
चिन्तन पाठक
इन्द्रमणि पराजुली
र थप दुई पदका लागि
उमाकान्त गौतम
निरन राई
रामप्रसाद मेहता
मध्येबाट दुई जना चयन हुनेछन् ।
कांग्रेसबाट चार मन्त्री
नेपाली कांग्रेसबाट प्रदीप सुनुवारको नेतृत्वमा
भीम पराजुली
मानबहादुर लिम्बू
इसराइल मन्सुरी
मन्त्री बन्ने निश्चित भएको कांग्रेस स्रोतको भनाइ छ ।
वर्तमान मन्त्रिमण्डल
हाल एमालेबाट
राम राना – आर्थिक मामिला
पाँचकर्ण राई – सामाजिक विकास
रेवतीरमण भण्डारी – आन्तरिक मामिला तथा कानुन
एकराज कार्की – खानेपानी, सिँचाइ तथा ऊर्जा
सिर्जना राई – राज्यमन्त्री
कांग्रेसबाट
भूपेन्द्र राई – भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य
खगेनसिंह हाङ्गाम – कृषि
सदानन्द मण्डल – पर्यटन, वन तथा वातावरण
मन्त्री छन् ।
बजेटपछि मात्रै परिवर्तन गर्ने सहमति
गएको साउन–भदौमै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भए पनि मुख्यमन्त्री कार्की र एमाले कोशी प्रदेश कमिटीबीच कुरा नमिल्दा प्रक्रिया अड्किएको थियो । कोशीमा एमाले–कांग्रेसबीच कम्तीमा एक आर्थिक वर्षको बजेट ल्याएपछि मात्रै मन्त्री परिवर्तन गर्ने सहमति अनुसार अहिलेको पुनर्गठन हुन लागेको हो ।
एमाले सांसदहरूका अनुसार पार्टीले मन्त्री छनोट गर्दा
केन्द्रीय संसदमा प्रतिनिधित्व गरिसकेका
दुईपटक प्रदेशसभामा निर्वाचित
समावेशीताको मापदण्ड
लाई प्राथमिकता दिएको छ । साथै कम्तीमा एक आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न दिने निर्णयसमेत मापदण्डमा समेटिएको छ ।
