नियमविपरीत इ–रिक्सा सञ्चालनप्रति कडा चेतावनी विराटनगरमा सडक अनुगमन गर्दै चालकलाई सडकमै जनचेतना

Logo
भोजराज घिमिरे शुक्रबार, पुष ११, २०८२

नियमविपरीत इ–रिक्सा सञ्चालनप्रति कडा चेतावनी
विराटनगरमा सडक अनुगमन गर्दै चालकलाई सडकमै जनचेतन
विराटनगर । विराटनगर महानगर क्षेत्रमा नियमविपरीत सञ्चालन भइरहेका इ–रिक्सा, बढ्दो ट्राफिक अव्यवस्था र यात्रु सुरक्षामा देखिएको लापरवाहीलाई लक्षित गर्दै सडक अनुगमन तथा कडा जनचेतना कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रममार्फत इ–रिक्सा चालकहरूलाई सडकमै रोक्दै कानुनी दर्ता, नवीकरण, सवारी चालक अनुमति पत्र, ट्राफिक नियम र यात्रु सुरक्षाबारे कडाइका साथ सचेत गराइएको हो।
यातायात व्यवस्था कार्यालय विराटनगरको आयोजनामा सम्पन्न कार्यक्रममा इ–रिक्सा चालकलाई इ–दर्ता नगरी सवारी चलाउँदा हुने कानुनी कारबाही, ब्लु–बुक नवीकरण नगरेमा लाग्ने जरिवाना, अनुमति पत्रबिनै सवारी चलाउँदा दुर्घटनाको जोखिम तथा यात्रुको जीवनसँग खेलवाड हुने विषयमा स्पष्ट चेतावनी दिइएको थियो।
कार्यक्रममा प्रशिक्षण दिँदै यातायात व्यवस्था कार्यालय विराटनगरका अधिकृत योगेश्वर खनालले नियम पालना नगर्ने चालकहरूका कारण सडक दुर्घटना बढिरहेको भन्दै अब लापरवाही सह्य नहुने स्पष्ट सन्देश दिनुभयो। उहाँले इ–रिक्सा चालकहरूलाई लक्षित सरकारी सहुलियतबारे जानकारी गराउँदै लाइसेन्स लिन लिखित परीक्षा दिन नपर्ने व्यवस्था, लाइसेन्स आवेदन गर्दा ३ हजार रुपैयाँ कर छुट, दुर्घटना बीमा सुविधा, तथा समयमै ब्लु–बुक लिँदा जरिवाना नलाग्ने व्यवस्था रहेको जानकारी दिनुभयो।
“सरकारले सहुलियत दिएको छ, तर नियम पालना नगरी सवारी चलाउने प्रवृत्ति खतरनाक छ,” खनालले भन्नुभयो, “अब सचेतना मात्र होइन, आवश्यक परे कडा कारबाहीमा पनि जान्छौं।”
कार्यक्रममा शोभना पोखरेल, भीम पराजुली र केशव पोखरेलले प्रशिक्षण तथा फिल्ड समन्वयमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनीहरूले चालकहरूलाई ट्राफिक चिन्ह, बाटो अनुशासन, यात्रु सुरक्षित राख्ने तरिका र आपतकालीन अवस्थाको व्यवस्थापनबारे व्यावहारिक जानकारी दिएका थिए।
सडक अनुशासन कायम गर्ने र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ, विराटनगर महानगरपालिका तथा नेपाल स्काउट कोशी प्रदेशले सहकार्य गरेका थिए। ट्राफिक प्रहरी टोलीले चालकहरूलाई नियम उल्लंघनका उदाहरण देखाउँदै अबदेखि नियमित अनुगमन र निगरानी कडा बनाइने जनाएको छ।
आयोजक यातायात व्यवस्था कार्यालय विराटनगर, मोरङका अनुसार महानगर क्षेत्रमा बढ्दो इ–रिक्सा संख्यालाई व्यवस्थित गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ। नियम नमान्ने चालकलाई कारबाही र नियम पालना गर्नेहरूलाई सहुलियत दिने नीति कडाइका साथ लागू गरिने कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356