निजी क्षेत्रलाई विश्वास गरियो भने अर्थतन्त्र बलियो हुन्छ : अर्थमन्त्री खनाल
विराटनगर। अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रलाई शंकाको घेरामा राखेर होइन, विश्वासका आधारमा अघि बढे मात्र मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन्।
बुधबार विराटनगरमा मोरङ उद्योग व्यापार संघद्वारा आयोजित विराट ट्रेड एक्स्पोको उद्घाटन गर्दै अर्थमन्त्री खनालले कर प्रशासनलाई पूर्ण रूपमा प्रविधिमैत्री, अनलाइन र झन्झटमुक्त बनाउँदै संघीयतालाई संस्थागत गर्ने प्रतिबद्धता जनाए।
उनले संघीयताको वास्तविक कार्यान्वयनका लागि केन्द्रमा केन्द्रित शक्ति र अधिकार प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्नुपर्नेमा जोड दिए। विगतमा राजनीतिक दलका सरकारले अधिकार दिन हिचकिचाएको उल्लेख गर्दै अब त्यस्तो अवस्था नआउने स्पष्ट पारे।
‘मेयर र उपमेयरहरूले कर्मचारी माग गर्दै दैनिक मन्त्रालय धाउनुपर्ने अवस्था संघीयताको मर्म विपरीत हो,’ उनले भने, ‘अब ७५३ वटै स्थानीय तहलाई अधिकारसम्पन्न बनाएर करदाता सेवा तल्लो तहसम्मै पुर्याइनेछ।’
डेनमार्कजस्ता मुलुकको उदाहरण दिँदै उनले संघीय मन्त्रीहरू स्थानीय तहमा ज्ञापनपत्र बुझाउन जाने अभ्यास नेपालमा पनि विकास हुनुपर्ने धारणा राखे। अन्तरसरकारी वित्त व्यवस्थापन ऐनका केही सीमाका कारण तत्काल राजस्व बाँडफाँडको हिस्सा परिवर्तन गर्न नसकिए पनि प्रशासनिक अधिकार हस्तान्तरणमा सरकार पछि नहट्ने उनको भनाइ थियो।
फुल अडिट बन्द, जोखिममा आधारित परीक्षण लागू
निजी क्षेत्रप्रति लक्षित गर्दै अर्थमन्त्री खनालले ‘पूर्ण लेखापरीक्षण (फुल अडिट)’को नाममा व्यवसायीलाई त्रसित बनाउने अभ्यास बन्द गरिएको जानकारी दिए। तथ्याङ्क विश्लेषण गर्दा फुल अडिटबाट राजस्व वृद्धिमा खास योगदान नपुगेको, बरु व्यवसायीले दुःख पाएको र बिचौलिया मौलाएको देखिएकाले अब जोखिममा आधारित परीक्षण प्रणाली लागू गरिएको उनले बताए।
‘हामी व्यवसायीलाई विश्वास गर्छौँ। यदि राज्यले राम्रो पूर्वाधार, स्वास्थ्य र सुरक्षा दिन्छ भने नागरिक र व्यवसायीले कर तिर्न हिचकिचाउँदैनन्,’ उनले भने।
आन्तरिक राजस्व विभागमा बिजनेस प्रोसेस रिइन्जिनियरिङको काम भइरहेको उल्लेख गर्दै उनले अबको कर प्रशासन पूर्ण रूपमा फेसलेस (व्यक्ति उपस्थित हुन नपर्ने) हुने बताए। यसका लागि एस्टोनिया र दक्षिण कोरियाले अपनाएका सफल प्रविधि नेपालमा भित्र्याउने गृहकार्य भइरहेको उनले जानकारी दिए।
फागुन २१ मै निर्वाचन, मिति सर्दैन
अर्थमन्त्री खनालले आगामी २०८२ फागुन २१ गते तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुने स्पष्ट पारे। निर्वाचनको मिति सारिनेबारे फैलाइएका हल्ला निराधार रहेको भन्दै उनले भने,
‘फागुन २१ मा निर्वाचन हुन्छ, हुन्छ। यसमा कत्ति पनि शंका नगर्नुहोस्।’
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको सन्दर्भ उल्लेख गर्दै उनले त्यस्तो अस्थिरता दोहोरिने खालको सरकार नचुन्न मतदातालाई आग्रह गरे। सोही क्रममा उनले नेपाली कांग्रेस र नेकपा एमालेको आलोचना गर्दै निर्वाचनका बेला ती दललाई मत नदिनुपर्ने अभिव्यक्ति पनि दिए।
उनले निर्वाचनलाई थप लोकतान्त्रिक बनाउन मतपत्रमा ‘नो भोट’ (None of the Above) को व्यवस्था गर्ने विषयमा समेत छलफल भइरहेको जानकारी दिए।
हिमाली जिल्लामा सम्भावित हिमपातलाई मध्यनजर गर्दै आवश्यक परे मतदान केन्द्र स्थानान्तरण गर्न सकिने गरी सुरक्षा संयन्त्र तयारी अवस्थामा रहेको उनले बताए। निष्पक्ष निर्वाचन गराउनु नै अन्तरिम सरकारको मुख्य म्यान्डेट रहेको उनको भनाइ छ।
विराट ट्रेड एक्स्पो
मोरङ उद्योग व्यापार संघद्वारा पुस ९ गतेदेखि सुरु भएको विराट ट्रेड एक्स्पो पुस १९ गतेसम्म सञ्चालन हुनेछ। एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका गरी २३० वटा स्टल रहेका छन्।
