विराटनगरमा विराट ट्रेड एक्स्पो २०८२ सुरु हुँदै

Logo
भोजराज घिमिरे बुधबार, पुष ०९, २०८२

विराटनगरमा विराट ट्रेड एक्स्पो २०८२ सुरु हुँदै
विराटनगर — मोरङ उद्योग व्यापार संघको आयोजनामा विराट ट्रेड एक्स्पो २०८२ विराटनगरमा सञ्चालन हुने भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङको छेउस्थित शान्ति चौक नजिकको खुला मैदानमा आयोजना हुने एक्स्पो पुस ९ गतेदेखि सुरु भई पुस १९ गतेसम्म सञ्चालन हुनेछ।
एक्स्पोको उद्घाटन संघीय सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत संघले एक्स्पोको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको हो।
मोरङ उद्योग व्यापार संघका अनुसार विराटनगर महानगरपालिका–१ स्थित जिल्ला प्रहरी कार्यालय मोरङको दक्षिणतर्फको खाली मैदानमा एक्स्पो आयोजना हुन लागेको हो। संघका ३४औँ कार्यकारिणी समितिका अध्यक्ष अनुपम राठीको नेतृत्वमा एक्स्पो आयोजना गरिएको हो।
संघका सचिव अमित सारडालाई विराट ट्रेड एक्स्पो संयोजक तथा कार्यकारिणी समिति सदस्य विनित सिंघानियाँलाई सह–संयोजकको जिम्मेवारी दिइएको छ।
एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी चार देशका २३० वटा स्टल रहनेछन्। एक्स्पो आयोजना गर्न संघले २ करोड ५० लाख रुपैयाँभन्दा बढी खर्च गर्ने जनाएको छ। विराटनगरसहित कोशी प्रदेश तथा छिमेकी देश भारतका उपभोक्ताले चार देशका औद्योगिक तथा व्यापारिक सामग्री अवलोकन तथा खरिद गर्न सक्नेछन्।
एक्स्पो अवलोकनका लागि १५० रुपैयाँ टिकट दर तोकिएको छ। संयोजक अमित सारडाका अनुसार एक्स्पोमा करिब २ लाख दर्शक सहभागी हुने र २५ देखि ३० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ।
एक्स्पोमा अस्ट्रेलियाको सिड्नीस्थित ओपेरा हाउसको डिस्प्ले तथा जलपरी (मरमेड) मुख्य सेल्फी जोनका रूपमा राखिएको छ। साथै एक्स्पो अवधिभर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार तथा चर्चित सांगीतिक ब्याण्डहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष नविन रिजाल, नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष तथा मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष प्रकाश मुन्दडा, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, विराट व्यापार संघका अध्यक्ष अंशु बंजरा, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौला, पर्यटन व्यवसायी भविष श्रेष्ठ तथा संघका वरिष्ठ उपाध्यक्ष अनिल साहलगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356