विराटनगरमा सशस्त्र प्रहरी नायब उपरीक्षक विकास खतिवडा सम्मानित
विराटनगर — विराटनगरमा क्रियाशील सञ्चारकर्मीहरूले सशस्त्र प्रहरी नायब उपरीक्षक विकास खतिवडालाई विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेका छन्। प्रस्तावित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, रानीमा कार्यरत नायब उपरीक्षक खतिवडाले सीमा सुरक्षा सुदृढीकरण, अवैध गतिविधि नियन्त्रण तथा चोरी–पैठारी निरुत्साहित गर्न पुर्याएको महत्वपूर्ण योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको हो।
कार्यक्रममा वक्ताहरूले सीमावर्ती क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै खतिवडाले अपनाएको सक्रियता, अनुशासन र नेतृत्व क्षमताले सीमा क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्न उल्लेखनीय भूमिका खेलेको बताए। सीमा क्षेत्रमा हुने तस्करी, अवैध ओसारपसार, गैरकानुनी गतिविधि तथा विभिन्न सामाजिक विकृति–विसंगति नियन्त्रणमा उहाँको पहल प्रभावकारी रहेको सहभागीहरूको भनाइ थियो।
कार्यक्रमका संयोजक सत्यनारायण शर्माले सशस्त्र प्रहरी बल नेपालको मूल उद्देश्यअनुसार सीमामा सुरक्षा व्यवस्थालाई मजबुत बनाउने, आम नागरिकमा सुरक्षाको अनुभूति गराउने तथा सीमावर्ती क्षेत्रलाई सुरक्षित राख्ने कार्यमा नायब उपरीक्षक खतिवडाको भूमिका प्रशंसनीय रहेको जानकारी दिनुभयो। उहाँले आफ्नो पदीय जिम्मेवारी र दायित्व कुशलतापूर्वक निर्वाह गर्दै जनविश्वास कायम गर्न सफल भएको समेत उल्लेख गर्नुभयो।
कार्यक्रममा बोल्दै साझा सरोकार डट कमका सम्पादक रोशन पोखरेलले समाजमा शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षाकर्मीहरूको योगदान अपरिहार्य रहेको बताउनुभयो। उहाँले सीमा सुरक्षा जस्तो चुनौतीपूर्ण क्षेत्रमा खटिँदै इमान्दारिता र सेवाभावका साथ काम गर्ने सुरक्षाकर्मीहरूलाई प्रोत्साहन गर्न यस्ता सम्मान कार्यक्रमहरू आवश्यक रहेको उल्लेख गर्दै नायब उपरीक्षक खतिवडाको आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।
यस्तै, समकालीन पथका सम्पादक तथा प्रकाशक मधुसुदन ज्ञवालीले सीमा क्षेत्रबाट हुने तस्करी तथा अवैध कारोबार नियन्त्रण गर्न खतिवडाले आफ्नो कार्यक्षेत्रबाट खेलेको भूमिकालाई सबैले आत्मसात गर्नुपर्ने बताए। उहाँले सुरक्षाकर्मी र सञ्चारकर्मीबीचको सहकार्यले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो।
सम्मान ग्रहण गर्दै सशस्त्र प्रहरी नायब उपरीक्षक विकास खतिवडाले आफू संगठनले दिएको जिम्मेवारीलाई इमान्दारितापूर्वक र अक्षरशः पालना गर्दै आएको बताउनुभयो। उहाँले सीमावर्ती क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्नु सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै सुरक्षाकर्मी, सञ्चारकर्मी तथा स्थानीय नागरिकबीचको सहयोग र सहकार्यले मात्रै दिगो सुरक्षा सम्भव हुने धारणा राख्नुभयो।
सञ्चारकर्मीहरूबाट सम्मानित हुन पाउनु आफ्नो लागि गर्व र प्रेरणाको विषय भएको बताउँदै खतिवडाले आगामी दिनमा पनि सीमा सुरक्षा सुदृढीकरण, अवैध गतिविधि नियन्त्रण तथा नागरिकमैत्री सेवा प्रवाहमा निरन्तर प्रतिबद्ध रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा विराटनगरका विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
