‘विराट ट्रेड एक्स्पो २०२५’ पुस ९ देखि विराटनगरमा, २३० स्टल तयारी — २ लाख दर्शक लक्षित
मोरङ उद्योग व्यापार संघ विराटनगरको आयोजनामा ‘विराट ट्रेड एक्स्पो २०२५’ आगामी पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा आयोजना हुने भएको छ। संघले सोमबार पत्रकार सम्मेलन गरी ११ दिनसम्म चल्ने मेलाबारे विस्तृत जानकारी सार्वजनिक गरेको हो।
यस वर्षको एक्स्पो विराटनगर–१ स्थित जिल्ला प्रहरी कार्यालय नजिकको खाली मैदानमा अन्तर्राष्ट्रिय स्तरको कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीका रूपमा आयोजना हुने छ। एक्स्पोको संयोजक संघका सचिव अमितकुमार सारडालाई तोकिएको छ।
संघका अनुसार देशको विद्यमान आर्थिक शिथिलतालाई चिर्दै बजारलाई चलायमान बनाउने उद्देश्य एक्स्पोको मूल लक्ष्य रहेको छ। मोरङ–सुनसरी औद्योगिक करिडोरको प्रवर्द्धन, कोशी प्रदेशका कृषि, पर्यटन, ऊर्जा र स्वदेशी उत्पादनको बजार विस्तार मुख्य फोकस रहनेछ।
?
अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी
एक्स्पोमा करिब २३० वटा स्टल रहने छन्। जर्मन प्रविधिको ‘ह्याङ्गर’ र ‘अक्टानम सिस्टम’ प्रयोग गर्दै मेलालाई आकर्षक बनाइने आयोजनाको तयारी छ।
स्टलमध्ये २६ स्टल विदेशी कम्पनीहरूले बुक गरिसकेको संघले जनाएको छ। नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादनसँगै भारत, बंगलादेश र पाकिस्तानका उत्पादनहरू पनि प्रदर्शनीमा राखिनेछ।
नयाँ उद्यमी र प्रविधिमैत्री एक्स्पो
परम्परागत व्यापार मेला भन्दा फरक ढङ्गमा यसपटक ज्ञान, प्रविधि र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको छ।
स्टार्टअप, सूचना प्रविधि, कर तथा लेखा प्रणाली र महिला उद्यमशीलता प्रवर्द्धनसम्बन्धी विशेष स्टलहरू रहनेछन्।
त्यसका साथै साइबर सुरक्षा, कर–लेखा प्रणाली, पर्यटन प्रवर्द्धन र व्यवसाय विस्तारका उपायबारे गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गरिने छ।
मनोरञ्जनका आकर्षण
दैनिक रूपमा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ।
मेलामा कुमा सागर, रकहेड्स, एलिमेन्ट्स, कुटुम्ब, स्वप्न सुमन, मेलिना राई, उज्जेन शाक्य लगायत कलाकारहरूले आकषिर्त प्रस्तुति दिनेछन्।
सेल्फी जोन, किड्स जोन, फिस तथा जलपरी टनेल, र सांस्कृतिक शैलीको आकर्षक प्रवेशद्वार पनि निर्माण गरिनेछ।
अढाई करोड खर्च, ३५ करोड कारोबार लक्ष्य
एक्स्पो सञ्चालनका लागि करिब अढाई करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
करिब ३५ करोड बराबरको कारोवार हुने अपेक्षा आयोजकले गरेको छ।
नेपाल तथा भारतका सीमावर्ती क्षेत्रबाट गरी करिब २ लाख दर्शक आउने अनुमान गरिएको छ।
प्रदर्शनी स्थल अभावमा गुनासो
पत्रकार सम्मेलनमा संघका अध्यक्ष अनुपम राठीले विराटनगरमा स्थायी प्रदर्शनी स्थल नहुँदा निकै समस्या हुने गरेको बताए।
विराटनगर महानगर, प्रदेश र संघीय सरकारसँग पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएको उनले गुनासो गरे।
स्थल अभावकै कारण प्रत्येक वर्ष फरक–फरक स्थानमा एक्स्पो आयोजना गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
मुख्य प्रायोजक
रमपम तयारी चाउचाउ र मारुती सिमेन्ट यसपटकको एक्स्पोका मुख्य प्रायोजक रहेका छन्।
कार्यक्रमले ‘कोशी पर्यटन वर्ष २०८२’ सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेको छ।
