सञ्चारकर्मी सञ्चार सहकारीको १४औं साधारणसभा सम्पन्न
उत्कृष्ट विद्यार्थीदेखि अग्रज सदस्यसम्म सम्मान — सहकारी नाफामा, ९ प्रतिशत बोनस वितरण
विराटनगर।
काेशी प्रदेशका पत्रकारहरूले स्थापना गरेको सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारणसभा शुक्रबार विराटनगरमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि मोरङ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरे रहेका थिए। साधारणसभाको अवसरमा सहकारीले उत्कृष्ट विद्यार्थी, विद्यावारिधि (PhD) प्राप्त सदस्य, असल ऋणी, उत्कृष्ट बचतकर्ता तथा अग्रज शेयर सदस्यसहित १० जना व्यक्तिहरूलाई सम्मान गरेको हो।
एसईई र सीटीईभीटीमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई नगद पुरस्कार र सम्मानपत्रसहित सम्मान गरिएको थियो।
एसईईतर्फ छात्र श्रेय शर्मा (GPA 4.00) र छात्रा मेघा श्रेष्ठ (GPA 3.96), कक्षा १२ तथा सीटीईभीटी तीनवर्षे तहतर्फ छात्र हृषव पोखरेल (GPA 3.53) र छात्रा मृदुला विष्ट (GPA 3.76) सम्मानित भएका छन्।
त्यसैगरी, विद्यावारिधि हासिल गर्ने शेयर सदस्यद्वय डा. डिल्ली पोखरेल र डा. धर्मराज ढकाल, अग्रज शेयर सदस्य केशवबहादुर कार्की, असल ऋणी अनिल श्रेष्ठ, र उत्कृष्ट बचतकर्ताका रूपमा कुलानन्द गच्छदार तथा कविता घिमिरेलाई पनि सम्मान गरिएको छ।
सम्मानित व्यक्तिहरूलाई प्रमुख अतिथि न्यायाधीश घिमिरेले दोसल्ला ओढाएर र कदरपत्र प्रदान गरी सम्मान गरे।
सहकारीका अध्यक्ष दिपक दाहालले प्रस्तुत वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा सहकारीले १ करोड १३ लाख ८८ हजार रुपैयाँको कारोबार गरेको र सो अवधिमा १३ लाख ६६ हजार ९८९ रुपैयाँ आम्दानीसहित ५ लाख ८ हजार ९६४ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको जानकारी दिए।
दाहालका अनुसार यस वर्ष सहकारीले शेयर सदस्यहरूलाई ९ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
यसअघि सहकारीले १३ प्रतिशत बोनस वितरण गरेको थियो।
अध्यक्ष दाहालले भने,
“हाम्रो सहकारी हाल नाफामा पुगेको छ। ९ प्रतिशत बोनस वितरण गर्न सफल हुँदा सदस्यहरूमा खुशी र आत्मविश्वास बढेको छ।”
साधारणसभामा लेखा समितिका संयोजक अविनाश निधिले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए।
उनले प्रस्तुत गरेको प्रतिवेदन साधारणसभाका सबै सदस्यहरूले सर्वसम्मत रूपमा पारित गरेका छन्।
प्रतिवेदनमा सहकारीको आय–व्यय, पूँजी संरचना र वित्तीय पारदर्शिताबारे विस्तृत विवरण समावेश गरिएको थियो।
सञ्चारकर्मी सञ्चार सहकारी संस्था सन् २०६९ सालमा स्थापना भएको हो।
हाल यस सहकारीमा १२१ जना शेयर सदस्य रहेका छन्।
साधारणसभामा सहकारीका पूर्वअध्यक्ष, पत्रकार, शेयर सदस्य, विभिन्न सञ्चार संस्था तथा संघ–संगठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
साधारणसभाले अध्यक्षको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गर्दै नयाँ वर्षका लागि सहकारीको कार्ययोजना अघि बढाउने निर्णय गरेको छ।
