बाढी–पहिरो पीडितलाई सरकारले तत्काल राहत उपलब्ध गराउने निर्णय

Logo
भोजराज घिमिरे मंगलबार, आश्विन २१, २०८२
  1. बाढी–पहिरो पीडितलाई सरकारले तत्काल राहत उपलब्ध गराउने निर्णय

मृतकका परिवारलाई २ लाख, विस्थापितलाई अस्थायी आवासका लागि ५० हजार रुपैयाँ

काठमाडौं। हाल देशभर बाढी र पहिरोबाट प्रभावित भएका नागरिकलाई सरकारले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ। मंगलबार बसेको विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले मापदण्डअनुसार राहत वितरण गर्ने निर्णय गरेको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टका अनुसार मृतकका परिवारले रु. २ लाख र बेपत्ताका परिवारले मापदण्डअनुसारको राहत रकम पाउने छन्।

त्यस्तै, बाढी–पहिरोका कारण घरबारविहीन भएका परिवारलाई अस्थायी आवास निर्माणका लागि रु. ५० हजार उपलब्ध गराइनेछ। सो रकममध्ये रु. २५ हजार तत्काल र बाँकी रु. २५ हजार आवासको संरचना निर्माणपछि दिइने प्राधिकरणले जनाएको छ।

स्थायी आवास निर्माणका लागि भने भौगोलिक आधारमा फरक–फरक सहयोग रकम निर्धारण गरिएको छ —

हिमाल क्षेत्रका लागि रु. ५ लाख,

पहाडका लागि रु. ४ लाख,

र तराई क्षेत्रका लागि रु. ३ लाख।

कार्यकारी प्रमुख भट्टका अनुसार राहत वितरण प्रक्रिया मापदण्डअनुसार नै अघि बढाइनेछ र गृह मन्त्रालयमार्फत तत्काल कार्यान्वयनका लागि निर्देशन दिइसकिएको छ।

बैठकले बाढी–पहिरोले अवरुद्ध सडक तथा अत्यावश्यक सेवा सञ्चालनका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर तत्काल पुनः सञ्चालन गर्ने निर्णय पनि गरेको छ। सडक, खानेपानी, विद्युत, सञ्चारजस्ता अत्यावश्यक सेवाहरू पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356