उद्योगी राजेन्द्र राउतद्वारा जिल्ला प्रशासन कार्यालय मोरङलाई कम्प्युटर तथा अन्य सहयोग

Logo
भोजराज घिमिरे आइतबार, आश्विन ०५, २०८२

उद्योगी राजेन्द्र राउतद्वारा जिल्ला प्रशासन कार्यालय मोरङलाई कम्प्युटर तथा अन्य सहयोग

विराटनगर । प्रतिष्ठित उद्योगी एवं नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जिल्ला प्रशासन कार्यालय मोरङलाई १० थान कम्प्युटर सहयोग गरेका छन्।

भदौ २४ गते जेनजी आन्दोलनका नाममा अराजक समूहले विराटनगरस्थित जिल्ला प्रशासन कार्यालयमा आगजनी र तोडफोड गरेको थियो। सो क्रममा प्रशासन भवनको संरचना मात्र नभई कार्यालयका अधिकांश महत्वपूर्ण कागजात, उपकरण तथा सामग्री जलेर खरानी बनेका थिए। भवन पूर्णरूपमा क्षतिग्रस्त हुँदा दैनिक प्रशासनिक सेवा प्रभावित भई सेवाग्राहीलाई अत्यन्त कठिनाइ भएको थियो।

यस्तै परिस्थितिमा सेवा सहज बनाउन उद्यमी राउतले आफ्नो पहलमा १० वटा कम्प्युटर उपलब्ध गराएका हुन्। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)ले आइतबार औपचारिक रुपमा ती कम्प्युटर मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई हस्तान्तरण गरेका छन्।

यस अवसरमा कार्यकारी निर्देशक भण्डारीले केवल कम्प्युटर मात्र नभई प्रशासन भवनलाई आवश्यक पर्ने अन्य सहयोगसमेत गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार एसियन पेन्ट्सले कार्यालय भवनको रंगरोगनका लागि ३ सय लिटर रंग उपलब्ध गराएको छ भने सो रंग प्रयोग गर्ने सम्पूर्ण खर्च महासंघले बेहोर्नेछ।

प्रमुख जिल्ला अधिकारी यादवले प्रशासन कार्यालयमा सेवा प्रवाहमा देखिएको समस्या समाधानतर्फ यो सहयोग महत्वपूर्ण योगदान हुने बताए। उनले कठिन परिस्थितिमा गरिएको सहयोगले सेवाग्राहीलाई राहत हुने विश्वास व्यक्त गर्दै उद्योगी राउत तथा महासंघलाई धन्यवाद ज्ञापन गरे।

अध्यक्ष राउतले भने, “प्रशासन कार्यालय सर्वसाधारणको हितमा दैनिक काम गर्ने संवेदनशील कार्यालय हो। आगजनीले प्रभावित भएको अवस्थामा छिटो सेवा सञ्चालन सुचारु होस् भन्ने हाम्रो उद्देश्य हो। त्यसैले यो सहयोग गरिएको हो।”

भवनमा आवश्यक मर्मत र पुनःनिर्माणका काम सुरु भइसकेको र यस क्रममा निजी क्षेत्रबाट प्राप्त भएको सहयोगले प्रशासनलाई यथाशीघ्र पूर्ण रूपमा सञ्चालनमा ल्याउन मद्दत गर्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356