

राष्ट्रपति भवन शितल निवासमा सहमति : सुशीला कार्की आज राति प्रधानमन्त्री बन्दै
काठमाडौं । राष्ट्रपति भवन शितल निवासमा भर्खरै भएको सहमतिअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की आज राति ९ बजे अन्तरिम सरकार प्रमुखका रूपमा शपथग्रहण गर्ने भएकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेल र आन्दोलनरत जेन–जी युवाहरूबीच संसद विघटनबारे सहमति जुट्न ढिलाइ हुँदा प्रधानमन्त्री नियुक्ति प्रक्रिया अड्किएको थियो। राष्ट्रपति पौडेलले कार्कीलाई “पहिले प्रधानमन्त्री नियुक्त गर्छु, त्यसपछि मन्त्रिपरिषद्को पहिलो बैठकबाट संसद विघटनको निर्णय ल्याउनुपर्छ” भनेका थिए। तर जेन–जी प्रतिनिधिहरू भने संसद विघटनपछि मात्र अन्तरिम सरकार गठन हुने अडानमा अडिग थिए।
लामो वार्तापछि अन्ततः जेन–जी युवाहरूको मागअनुरूप पहिले संसद विघटन गर्ने र त्यसपछि कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति भएको हो।
राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, कार्कीको शपथपछि तत्काल मन्त्रिपरिषद्को पहिलो बैठक बस्नेछ र सो बैठकले संसद विघटन गर्ने निर्णय गरी राष्ट्रपतिलाई सिफारिस गर्नेछ।
“मन्त्रिपरिषदले संसद विघटनको सिफारिस गरेपछि राष्ट्रपतिबाट स्वीकृत हुनेछ,” पोखरेलले जानकारी दिए।
यससँगै जेन–जी आन्दोलनरत युवाहरूको मुख्य माग पूरा हुने दिशामा सहमति जुटेको छ।