

शनिबार मधेश प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। लामो समयदेखि मनसुन सक्रिय नहुँदा खडेरीको चपेटामा परेको मधेशलाई सरकारले केही समय अघि विपद् प्रभावित क्षेत्र घोषणा गरेको थियो।
शनिबार बिहानको मापनअनुसार धनुषाको तुलसी केन्द्रमा ६३.८ मिलिमिटर र हरिनाथमा ५१ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यस्तै, रौतहटको गौरमा ४४.६ मिलिमिटर र बाराको अमलेखगञ्जमा ४६.४ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।
मौसम विज्ञानको परिभाषाअनुसार, २४ घण्टामा ५० देखि १०० मिलिमिटर वर्षा ‘भारी’ र १० देखि ५० मिलिमिटर वर्षा ‘मध्यम’ मानिन्छ। यस अनुसार धनुषामा भारी वर्षा भएको पुष्टि भएको छ।
यस्तै, सर्लाहीमा ३७.६ मिलिमिटर र महोत्तरीको गौशाला केन्द्रमा ३२.४ मिलिमिटर वर्षा मापन गरिएको छ। सिराहा र सप्तरीमा वर्षा तुलनात्मक रूपमा कम देखिएको छ।
विभागका अनुसार आइतबार पनि मधेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यूनचापीय रेखा उत्तरतर्फ सर्ने क्रम जारी रहेकाले वर्षा अझ बढ्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
त्यस्तै, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रहरू तथा केही तराई भूभागमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा शनिबार पनि भारी वर्षा हुने अनुमान गरिएको छ।