

गोल्डेन अस्पतालद्वारा शल्यक्रियामा भारी छुट, सामाजिक उत्तरदायित्व स्वरूप योजना सार्वजनिक
विराटनगर, असार २६ – विराटनगरस्थित गोल्डेन अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत शल्यक्रियामा भारी छुट दिने योजना सार्वजनिक गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमार्फत अस्पतालले बिरामीहरूलाई सहुलियत दरमा सेवा प्रदान गर्न लागिएको जानकारी गराएको हो।
अस्पतालका निर्देशक सनातन मण्डलले नागरिकको स्वास्थ्यमा सहयोग पुर्याउने उद्देश्यले यो योजना ल्याइएको बताए। “हाम्रो लक्ष्य नाफा कमाउने नभएर जनताको स्वास्थ्य सेवामा योगदान पुर्याउने हो,” उनले भने।
प्रबन्ध निर्देशक डा. श्यामकुमार रौनियारले नेपाली स्वास्थ्य प्रणालीमा यो निर्णय ऐतिहासिक भएको बताए। “नेपाल सरकारको सर्वसुलभ स्वास्थ्य सेवा दृष्टिकोणलाई आत्मसात गर्दै हामीले समाजप्रतिको दायित्वलाई प्राथमिकता दिएका छौं,” डा. रौनियारले स्पष्ट पारे।
शल्यक्रियाको नयाँ सहुलियत दर यसप्रकार छः
- हाइड्रोसिल – रु. १९,९९९
- एपेन्डिक्स – रु. १९,९९९
- पाठेघर – रु. २४,९९९
- सिजेरियन डेलिभरी – रु. १५,०००
- सामान्य डेलिभरी – रु. ४,९९९
- अनुहार शल्यक्रिया – रु. ३४,९९९
- कानको जाली फुटेको – रु. २४,९९९
- मूत्रनली पथरी – रु. २४,९९९
- टन्सिल – रु. २९,९९९
- नाक बाङ्गो (डेभिएटेड सेप्टम) – रु. २९,९९९
- किड्नीको पथरी – रु. ३४,९९९
- पित्तथैलीको पथरी – रु. ३९,४९९
यी सबै शल्यक्रिया १०–१५ वर्ष अनुभव भएका एमएस वा एमडी डिग्रीधारी विशेषज्ञ चिकित्सकहरूद्वारा गरिनेछ।
विशेष समुदायका लागि थप छुट
- १८ वर्षमुनिका बालबालिका – सघन उपचारबाहेक सम्पूर्ण सेवामा २५% छुट
- ८० वर्षमाथिका वरिष्ठ नागरिक – ५०% छुट
अस्पतालका प्रशासन प्रमुख ज्याहुलक हकले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै समाजप्रति उत्तरदायी भएर छुट योजना ल्याइएको जानकारी दिए।
मुख्य उद्देश्यहरू
- शल्यक्रिया सेवामा रहेको झन्झटिलो प्रक्रिया र लामो प्रतीक्षा सूची अन्त्य गर्ने
- गुणस्तरीय सेवा न्यून शुल्कमा उपलब्ध गराउने
- मातृ तथा शिशु मृत्युदर घटाउने
- वरिष्ठ विशेषज्ञ चिकित्सकबाट सुरक्षित र भरपर्दो सेवा सुनिश्चित गर्ने
अस्पतालले मातृ तथा शिशु स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको जनाएको छ। यसै सन्दर्भमा निकट भविष्यमा थप जनमैत्री योजनाहरू ल्याइने प्रतिबद्धता अस्पतालले जनाएको छ।
“गोल्डेन अस्पताललाई सामाजिक सेवाको प्रतीक बनाउने हाम्रो लक्ष्य हो,” निर्देशक मण्डलले भने, “हामी सबै नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो सेवा सहुलियत दरमा दिन प्रतिबद्ध छौं।”