

केन्यामा सरकारविरोधी प्रदर्शनहरूका क्रममा कम्तीमा ११ जनाको ज्यान गएको र ५०० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेको सीएनएनले केन्याको राष्ट्रिय प्रहरी सेवालाई उद्धृत गर्दै सोमबार रिपोर्ट गरेको छ।
तीन दशकअघि सन् १९९० को जुलाई ७ मा भएको लोकतन्त्रवादी आन्दोलन “सबा सबा” को वार्षिकोत्सवको दिन देशभर प्रदर्शनहरू भएका थिए। “सबा सबा” स्वाहिली भाषामा “सात सात” भन्ने अर्थ राख्छ, जुन जुलाई ७ तारिखलाई जनाउँछ।
युवाहरुको उल्लेखनीय सहभागिता रहेको प्रदर्शनमा भ्रष्टाचार, प्रहरी दमन र सरकारविरोधी आलोचकहरूको बेपत्ता पारिएको खबरप्रति आक्रोश व्यक्त गरिएको थियो। सुरक्षाकर्मीहरूले प्रदर्शन नियन्त्रण गर्न आँसु ग्यास र पानीको फोहरा प्रयोग गरेका थिए।
प्रहरीले ११ जना सर्वसाधारण घाइते भएको जनाएको भए पनि केन्या राष्ट्रिय मानव अधिकार आयोग (KNCHR) का अनुसार यो संख्या २९ पुगेको छ। कुल ५६७ जना प्रदर्शनकारी पक्राउ गरिएको प्रहरी स्रोतले पुष्टि गरेको छ।
पछिल्ला आन्दोलनहरू गत वर्षदेखि सुरु भएका हुन्, जब सरकारले वित्त विधेयकमार्फत कर वृद्धि गरेको थियो। उक्त विधेयक जुन २०२४ मा जनदबाबपछि फिर्ता लिइए पनि जनता आक्रोशित नै छन्, विशेषगरी एक शिक्षकको प्रहरी हिरासतमा मृत्यु र सडक व्यापारीको प्रहरीद्वारा गोली हानी हत्या भएपछि।
सन् २०२४ को सुरुवातदेखि हालसम्म करविरोधी प्रदर्शनमा दर्जनौं नागरिकको ज्यान गइसकेको छ।
सोमबार राजधानी नैरोबीसहित देशका विभिन्न क्षेत्रहरूमा प्रदर्शन भएको थियो। सरकारका महत्त्वपूर्ण भवनहरू वरपर सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको बताइएको छ।
यसैबीच, आइतबार मानव अधिकार संगठन केन्या ह्यूमन राइट्स कमिशनको कार्यालयमा सरकारी समर्थित समूहले हमला गरेको आरोप लागेको छ। घटनास्थलमा पत्रकार सम्मेलन गर्दै arbitrary arrest र हत्या विरुद्ध आवाज उठाइरहेका आमाहरूलाई बिथोलिएको थियो।
केन्याका गृहमन्त्री किपचुम्बा मुर्कोमेनले सुरक्षा निकायहरू उच्च सतर्कतामा रहेको बताउँदै विगत महिनाको प्रदर्शनलाई “असन्तोषको आवरणमा आतंकवाद” भनेका थिए। यो अभिव्यक्तिले झनै जनआक्रोश बढाएको सीएनएनले जनाएको छ।