

चितवन — नेपाल लेयर्स पोल्ट्री ब्रिडर्स संघले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य निर्धारण गरेको छ। संघका अनुसार ठूलो साइजको अण्डाको फार्म मूल्य प्रति क्रेट ४८० रुपैयाँ र मध्यम साइजको अण्डाको ४५० रुपैयाँ निर्धारण गरिएको छ। यो मूल्य अघिल्लोभन्दा प्रतिक्रेट ३० रुपैयाँले वृद्धि भएको हो।
संघका अध्यक्ष विनोद पोखरेलले उत्पादन घटेको र माग बढेको कारणले मूल्य वृद्धि गरिएको बताएका छन्। उनका अनुसार चार महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुँदै आएकोमा हाल २८ हजारदेखि ३० हजार कार्टुनमा झरेको छ।
कृषि तथा वन विश्वविद्यालय, रामपुरका सह–प्राध्यापक डा. अनन्त दाहालका अनुसार तापक्रम बढ्दा कुखुराले कम आहार खाने हुँदा अण्डा उत्पादन घटेको हो। अहिले उत्पादन झण्डै २५ प्रतिशतले घटेको बताइएको छ। साथै, यो मौसममा रोग संक्रमणको सम्भावना बढ्ने र वर्षाका कारण आर्द्रता बढ्दा तातोको असरले कुखुरामा तनाव बढ्ने हुँदा पनि उत्पादन घट्ने गरेको छ।
त्यसैगरी, राष्ट्रिय कुखुरा रोग अनुसन्धान प्रयोगशाला, भरतपुरका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार चितवन र आसपासका जिल्लाबाट ल्याइएका नमूनामा ५० वटा पोल्ट्री फार्ममा एच–९ (वा एच–९एन–२) रोग देखिएको छ|