

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका अन्तर्गत बिनयी खोलामा बनेको अस्थायी डाइभर्सन भारी वर्षाका कारण बगाएपछि सोमबार रातिदेखि नारायणगढ–बुटवल खण्ड अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार निरन्तरको भारी वर्षाले बिनयी खोलामा पानीको सतह बढेपछि अस्थायी डाइभर्सन बगाएको हो। पानी अझै नघटेकाले मर्मत सम्भव नभएको प्रवक्ता डीएसपी मधु नेपालले जानकारी दिए।
यसअघि माघ २७ गते (जनवरी १०) बिनयी खोलामाथिको २४५ मिटर लामो पक्की पुल भत्किएपछि अस्थायी डाइभर्सनमार्फत सवारी साधन सञ्चालन हुँदै आएका थिए। यो पाँचौं पटक डाइभर्सन बगाएर सडक अवरुद्ध भएको हो।
सडक अवरुद्ध भएपछि यात्रुबाहक बस र साना गाडीहरूलाई होङ्सी सिमेण्ट गेट र सर्दी–डुम्किबास बजार मार्ग हुँदै डाइभर्ट गरिएको छ। तर, दाउन्ने उकालो चिप्लो र हिलो भएकोले सवारी साधनहरू चढ्न सकिरहेका छैनन्।
सडकको अवस्था खराब भएकाले डुम्किबास क्षेत्रमा ठूलो जाम भएको छ। प्रहरीका अनुसार अरुणखोला, डुम्किबास र होङ्सी गेट आसपास करिब २०० सवारी साधन रोकिएका छन्। चालक र सयौं यात्रु अलपत्र परेका छन् र ठूलो सास्ती भोगिरहेका छन्|