

नेतृ शैलजा आचार्यको १६औं स्मृति दिवस जहदामा सम्पन्
– मोरङ, जेठ ३०|
नेपाली राजनीतिमा निष्ठा, त्याग र आदर्शको प्रतीक नेतृ शैलजा आचार्यको १६औं स्मृति दिवस मोरङको जहदा गाउँपालिका–१ स्थित कृष्णप्रसाद कोइराला सेवा गुठी तथा शैलजा आचार्य स्मृति पोलिटेक्निकमा विविध कार्यक्रमसहित सम्पन्न भएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले आचार्यले देखाएको मार्गदर्शन, मूल्य र आदर्शलाई आजका राजनीतिक दलहरूले आत्मसात गर्नु जरुरी रहेको धारणा राखे।
राजनीतिक प्रेरणा र पोलिटेक्निकको योगदान
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य अमृत अर्यालले आफू शैलजा आचार्यबाट प्रभावित भई राजनीतिमा लागेको उल्लेख गर्दै, उहाँद्वारा स्थापित पोलिटेक्निक विपन्न वर्गका विद्यार्थीहरूका लागि उच्च शिक्षाको सहारा बनेको बताए। उनले संस्थालाई बजेट अभावका कारण सञ्चालनमा कठिनाइ भइरहेको जनाउँदै संघीय, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराए।
प्रजातन्त्र र विकासमा योगदान
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेले शैलजा आचार्यको प्रजातन्त्र स्थापनामा अतुलनीय योगदान रहेको उल्लेख गर्दै सामाजिक, शैक्षिक तथा आर्थिक क्षेत्रमा पुर्याएको योगदान सधैं सम्झनुपर्ने बताए। कोशी प्रदेशसभा सदस्य गयानन्द मण्डलले आचार्य उपप्रधानमन्त्री तथा मन्त्री रहेका बेला अगाडि सारेका दीर्घकालीन योजनाहरूले मुलुकको विकासलाई गति दिएको बताए।
संस्थागत संरक्षणको आवश्यकता
पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारीले प्रजातान्त्रिक आन्दोलनमा योगदान दिने व्यक्तिहरूको नाममा स्थापित संस्थाहरूलाई राज्यले संरक्षण र सहयोग गर्नु पर्ने बताए।
स्थानीय सरकारको सहभागिता
जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह र धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ गच्छदारले पोलिटेक्निकको सञ्चालन र जेहेन्दार विद्यार्थीका लागि पालिकाबाट नियमित बजेट विनियोजन हुँदै आएको जानकारी दिए।
पोलिटेक्निकको सेवा र लक्ष्य
संस्थाकी अध्यक्ष मिता आचार्य र प्रिन्सिपल सन्तबहादुर अधिकारीले प्राविधिक शिक्षाको विकासमा पोलिटेक्निकले पुर्याएको योगदानबारे जानकारी दिँदै, सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मका विद्यार्थीलाई सेवा दिइरहेको उल्लेख गरे।
कार्यक्रममा सेवा गुठीका कोषाध्यक्ष मोहलाल महतो, सदस्य विकास पराजुली, पत्रकार महासंघ मोरङ अध्यक्ष सुसिला पाठक, पोलिटेक्निकका अधिकृत भुपाल गिरी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा वृक्षारोपण जस्ता वातावरणीय गतिविधिहरू समेत सम्पन्न गरिएको थियो ।