

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी व्यवसायी संघ, मोरङ विराटनगर-९ ले सरकारले सुन, हिरा र जवाहरतमा लगाएको करको विरोध गर्दै संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका छन्। व्यवसायीहरूले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा, जवाहरत तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गरेका छन्। साथै, उनीहरूले स्पष्ट सुनचाँदी नीति तथा निर्देशिका तुरुन्त जारी गर्न सरकारसँग माग गरेका छन्।
संघका अनुसार विरोधका कार्यक्रम अन्तर्गत भोलि (बिहीबार) बिहान ११ बजेदेखि दिउँसो १२:३० बजेसम्म कर कार्यालयमा धर्ना दिइनेछ। त्यसपछिको कार्यक्रम अन्तर्गत दिउँसो ३ बजे प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालयमा ज्ञापनपत्र बुझाइनेछ।
व्यवसायीहरूले कर संरचनाले व्यवसाय संकटमा पारिएको भन्दै तत्काल सुधारको माग गरेका छन्। सरकारले व्यवसायमै असर गर्ने गरी अव्यवहारिक कर प्रणाली ल्याएको भन्दै व्यवसायीहरु सडक आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले शान्तिपूर्ण रूपमा सरकारको ध्यानाकर्षण गराउँदै आफ्ना माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलन तीव्र बनाइने चेतावनी दिएका छन्।