

प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय विभेद र छुवाछुत अन्त्य गर्न सहानुभूति र समानताको भावना विकास गर्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले व्यक्तिको मूल्यांकन जात, थर वा जन्मका आधारमा नभई कार्य, विचार र योगदानका आधारमा हुनुपर्ने बताए।
प्रधानमन्त्री ओलीले भने, “आमाहरू जात जन्माउँदैनन्, उनीहरूले त केवल नवजात शिशु जन्माउँछन्। जब शिशु हिँड्न थाल्छ, समाजले उसको जात र वंश सोध्न थाल्छ। मानवता भन्दा माथि कुनै जात हुँदैन।”
उनले थपे, “सबैको रगतको रङ एउटै हुन्छ। सबैको आँसु एउटै पीडाले बग्छ। हामीले यस्तो समाज निर्माण गर्नुपर्छ, जहाँ व्यक्तिको मूल्यांकन जात, वंश वा जन्मका आधारमा नभई कार्य, विचार र योगदानका आधारमा गरिन्छ।”
प्रधानमन्त्री ओलीले जातीय विभेद र छुवाछुतजस्ता अमानवीय अभ्यासहरू अन्त्य गर्न सबैले आ-आफ्नो स्थानबाट सक्रिय हुनुपर्नेमा पनि जोड दिए। उनले समाजका सबै तहबाट चेतना अभिवृद्धि गर्ने अभियान सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गरे।
उनका अनुसार, यद्यपि कानुनले छुवाछुतजस्ता अमानवीय अभ्यासहरूलाई निषेध गरेको छ, तर यो पूर्ण रूपमा अन्त्य भएको छैन। त्यसैले समाजका सबै तहबाट चेतना अभिवृद्धि गर्ने अभियान सञ्चालन गर्न आवश्यक रहेको उनले बताए।
प्रधानमन्त्री ओलीले जात, लिङ्ग, धर्म र संस्कृतिका आधारमा हुने विभेदविरुद्ध एमालेले निरन्तर संघर्ष गर्दै आएको र सामाजिक विभेदका पीडितहरूको आर्थिक सशक्तिकरण तथा सामाजिक गरिमाका लागि नीतिगत सुधारमा नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गरे।
उनले सबै प्रकारका जातीय विभेद, अन्याय, अन्धविश्वास, अपराध, वञ्चना र हिंसा अन्त्य गरेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्नुपर्नेमा जोड दिए।