

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा मंगलबार सम्पन्न २०२५ को इन्डियन प्रिमियर लिग (आईपीएल) फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै आफ्नो पहिलो आईपीएल उपाधि जितेको छ। १८ वर्षको लामो प्रतीक्षापछि आरसीबीले उपाधि उचाल्दा कप्तान विराट कोहली आँशुमा डुबेका थिए।
पहिलो ब्याटिङ गर्दै आरसीबीले २० ओभरमा १९०/९ रन बनाएको थियो। कोहलीले ३५ बलमा ४३ रन बनाए भने जिटेश शर्माले १० बलमा २४ रन र लियाम लिभिङस्टोनले १५ बलमा २५ रनको योगदान दिए। पञ्जाबका अर्शदीप सिंह र काइल जेमिसनले समान ३ विकेट लिए।
जवाफी ब्याटिङमा पञ्जाब किंग्सले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन मात्र बनाउन सक्यो। शशांक सिंहले ३० बलमा अविजित ६१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। आरसीबीका क्रुनाल पाण्ड्या र भुवनेश्वर कुमारले समान २ विकेट लिए।
यो जितसँगै आरसीबीले १८ वर्षको उपाधि खडेरी तोडेको छ। कोहलीले यो उपाधि आफ्ना पूर्वसहकर्मी एबी डि भिलियर्स र क्रिस गेललाई समर्पण गरेका छन्। उपाधि जितेपछि कोहली पत्नी अनुष्का शर्मासँग खुसी साट्दै भावुक बनेका थिए।
बेंगलुरु शहरभरि आरसीबीको जितको उत्सव मनाइएको छ। पब, रेस्टुरेन्ट, मल्टिप्लेक्स र सडकहरूमा समर्थकहरूले रातभरि नाचगान र आतिशबाजी गरेका छन्। यो जितले आरसीबी समर्थकहरूका लागि ऐतिहासिक क्षण बनेको छ।