

- निजी क्षेत्रद्वारा बजेटको स्वागत, मोरङ चेम्बर अफ कमर्स अध्यक्ष पोखरेलले भने– ‘उद्योग व्यवसायमैत्री बजेट’
विराटनगर, जेठ १५ – सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेटलाई निजी क्षेत्रले सकारात्मक रूपमा स्वागत गरेको छ। मोरङ चेम्बर अफ कमर्सका अध्यक्ष यादव पोखरेलले प्रस्तुत बजेटलाई समग्रमा व्यापारी तथा उद्योगीमैत्री रहेको बताएका छन्।
अध्यक्ष पोखरेलका अनुसार बजेटमा समावेश गरिएका नीतिहरूले व्यापार तथा उद्योग क्षेत्रको उत्साहवर्धन गरेको छ। उनले भने, “सरकारले राजस्वबाट १३ खर्ब संकलन गर्ने लक्ष्य लिएको छ, जुन हालको व्यापारिक परिप्रेक्ष्यमा चुनौतीपूर्ण देखिन्छ। तर, केही सकारात्मक प्रावधानहरूले निजी क्षेत्रको मनोबल बढाएको छ।”
बजेटले कृषि क्षेत्रमा लगानी गर्न चाहने स्टार्टअपहरूलाई पाँच वर्षसम्म पूरै कर छुट दिने व्यवस्था गरेको छ। यसले युवा उद्यमशीलता र कृषि क्षेत्रको आधुनिकीकरणमा टेवा पुर्याउने अध्यक्ष पोखरेलको विश्वास छ।
त्यस्तै, उपभोग्य वस्तु चिनीको भन्सार महसुल ३० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झारिएको निर्णयले उपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ। नेपाली लगानीकर्ताले अब आफ्ना उत्पादनहरू विदेशमै उत्पादन गर्ने नीति समेत बजेटले ल्याएको छ, जसले निर्यात प्रवर्द्धनमा भूमिका खेल्ने विश्वास पोखरेलले व्यक्त गरे।
बजेटमा सुनका गहना निर्माण गरी विदेश निर्यात गर्ने व्यवसायीलाई केही मूल्य बराबरको विदेशी मुद्रा भित्र्याएमा सुन खरिद गर्न दिने नीति समेत समावेश गरिएको छ। डेरी तथा कृषि उद्योगहरूमा एक प्रतिशत भन्सार शुल्कबाहेक अन्य कुनै कर नलाग्ने प्रावधानले स्थानीय उद्योगलाई सहयोग पुग्ने देखिन्छ।
त्यस्तै, प्रदेश तथा स्थानीय सरकारहरूले सडकमा ‘ढाट’ राखेर सवारी साधनबाट कर असुल्ने प्रथा अन्त्य गरिएको छ। यसले खासगरी भारतीय पर्यटकहरूको सहज आवागमन सुनिश्चित गर्ने र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अध्यक्ष पोखरेलको भनाइ छ।
“कुल मिलाएर हेर्दा, यो बजेटले व्यापार, उद्योग र कृषि क्षेत्रमा केही नयाँ सम्भावनाको ढोका खोलिदिएको छ,” पोखरेलले निष्कर्षमा भने।