

प्रदेश प्रहरी प्रमुखको सुनसरी निरीक्षण: नागरिकमैत्री सेवा र शून्य सहनशीलताको निर्देश
विराटनगर, जेठ १२ ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले आज जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण गर्नुभएको छ। भ्रमणको क्रममा उहाँले कार्यालयका सम्पूर्ण शाखा तथा हिरासत कक्षको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो।
निरीक्षणपछि प्रमुख कार्कीले जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाईका प्रमुखहरुसहित कार्यरत प्रहरी अधिकृत र कर्मचारीलाई निर्देशन दिनुभयो। उहाँले प्रहरी सेवा नागरिकमैत्री, पीडितमैत्री र सेवाग्राही केन्द्रित बनाउँदै नागरिकमा विश्वास जाग्ने गरी जिम्मेवारी वहन गर्न आग्रह गर्नुभयो। साथै, भाईचारा, बन्धुत्व र अनुशासित व्यवहारका साथ कुनै पनि आर्थिक प्रलोभनमा नपरी शून्य सहनशीलताको नीतिमा आधारित व्यवसायिक प्रहरीको भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो।
डीआईजी कार्कीले दैनिक प्रशासनिक कार्य चुस्तदुरुस्त राख्न, अभिलेख व्यवस्थित गर्न, जिम्मेवार क्षेत्रहरूमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा कायम राख्न, पेण्डिङ मुद्दाहरूको प्रभावकारी अनुसन्धान, भारतीय सीमाबाट हुने अवैध कारोबार नियन्त्रण, लागूऔषध ओसारपसारमा रोक लगाउन र फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्रता दिन निर्देशन दिनुभयो। साथै, सवारी दुर्घटना न्यूनीकरणका लागि मापसे तथा ट्राफिक चेकिङ कडाई गर्न, सामाजिक चेतनामूलक कार्यक्रम सञ्चालन गर्न र वर्षात्को समयमा हुन सक्ने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहनसमेत उहाँले निर्देशन दिनुभयो।
कार्यक्रमको अवसरमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले प्रमुख कार्कीलाई सुनसरी जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था, जनशक्ति व्यवस्थापन, भावी कार्ययोजना, सुरक्षाका चुनौतीहरू र प्रदेश प्रहरी कार्यालयसँगका अपेक्षाहरू समेटिएको प्रस्तुति दिनुभयो।