

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाल विद्युत प्राधिकरणको नाफा–घाटा प्रकरणबारे पारदर्शी ढंगले छलफल गर्न संसदको पूर्वाधार विकास समितिमा तीन पक्षलाई बोलाउने माग गरेका छन्। बुधबार समितिको बैठकमा बोल्दै उनले तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ, हालका एमडी, र महालेखा परीक्षक कार्यालयलाई झिकाएर तथ्यगत छलफल गर्नुपर्ने धारणा राखे।
सापकोटाले कुलमान घिसिङ कार्यकारी निर्देशक रहेका बेला र त्यसपछिको अडिट प्रणाली फरक–फरक भएको आरोप लगाए। उनले भने, “हिजो कुलमानजी हुँदाको अडिट सिस्टम एउटा थियो, अहिले अर्को प्रणाली अपनाइएको छ, त्यसैले सबै पक्षबाट कुरा स्पष्ट पार्न जरुरी छ।”
उनले ऊर्जा मन्त्रालयको धारणा अनुसार छलफलमा महालेखा परीक्षकलाई समेत सहभागी गराइनुपर्ने बताए। “पारदर्शिताका लागि बहालवाला एमडी, पूर्व एमडी कुलमान घिसिङ र महालेखालाई समितिमा झिकाउनुपर्छ,” सापकोटाको भनाइ थियो।
सांसदहरूको साझा धारणा भनेको नाफा–घाटा प्रकरणमा राजनीतिकरण नगरी तथ्यमा आधारित निष्कर्ष निकाल्नुपर्ने हो।