

मोरङ, जेठ ६ — नेपाल–भारत सीमाको रानी नाकामा सुरक्षाकर्मीको कडाइपछि भारतको जोगबनी बजारसँग जोडिएको व्यापारमा ५० प्रतिशतले गिरावट आएको व्यवसायीहरूले बताएका छन्। गृह मन्त्रालयको निर्देशनअनुसार जेठ २ गतेदेखि सीमामा निगरानी बढाइएपछि नेपालबाट जोगबनी जाने ग्राहकको संख्या उल्लेखनीय रूपमा घटेको हो।
जोगबनीस्थित किराना व्यवसायी मुन्ना यादवका अनुसार, “पहिलेको तुलनामा अहिले ग्राहक संख्या आधा घटेको छ। किनमेलका लागि आउने धेरै नेपाली अब सामान नपाई फर्किन थालेका छन्।”
गृहमन्त्री रमेश लेखकको स्पष्ट निर्देशनपछि सुरु गरिएको यो कडाइको उद्देश्य सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण गर्नु हो। विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री लेखकले सुरक्षाकर्मीलाई निष्क्रियता देखिए कारबाही हुने चेतावनी दिएका थिए।
जोगबनी बजारमा नेपालका सर्वसाधारणदेखि सरकारी कर्मचारीसम्मको किनमेल चलन रहेको छ। कपडा, खाद्यान्नदेखि दैनिक उपभोग्य सामग्रीसम्म सस्तो मूल्यमा पाइने भएकाले जोगबनी नेपालीका लागि प्रमुख गन्तव्य बन्ने गरेको थियो।
व्यापार घटेपछि मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र नेपाल उद्योग परिसंघ कोशी प्रदेश अध्यक्ष पवन सारडाले गृहमन्त्रीसँग छलफल गर्दै कडाइको वैकल्पिक उपाय अपनाउन आग्रह गरेका छन्। विराटनगरका व्यापारी राकेश जैन भन्छन्, “सिमामा गरिएको यो अत्यधिक कडाइले नेपाली व्यापारीसमेत प्रभावित भएका छन्। कारोबार घट्दा स्थानीय बजारमा पनि असर पर्नेछ।”
सुरक्षाका नाममा भइरहेको यो कडाइ दीर्घकालीन समाधान नभएको भन्दै व्यवसायीहरूले नेपाल–भारत सीमा व्यापारलाई सहज बनाउन सरकारसँग आग्रह गरेका छन्।