

पुल्चोक एफसीको धमाकेदार जित, उमेश मगरको ह्याट्रिकले राइजिङ स्टार पराजित
पथरी शनिश्चरे, २३ वैशाख –
पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा जारी दोस्रो नगर खेलकुद महोत्सव अन्तर्गत सोमबार भएको फुटबल खेलमा पुल्चोक एफसीले उत्कृष्ट प्रदर्शन गर्दै एच. राइजिङ स्टारलाई ४–२ को अन्तरले पराजित गरेको छ।
खेलको सुरुवातमा नै राइजिङ स्टारले अग्रता लिएको थियो। खेलको तेस्रो मिनेटमा नितेश राईले गोल गर्दै टिमलाई १–० ले अघि बढाएका थिए। उनले पुल्चोकका गोलकिपर कृष धिमालको गल्तीको लाभ उठाउँदै सजिलो गोल गरेका थिए। तर त्यसपछि पुल्चोकले खेलको नियन्त्रणमा लिँदै उत्कृष्ट पुनरागमन गर्यो।
पुल्चोकका उमेश मगरले १४औं, २६औं र ५६औं मिनेटमा लगातार तीन गोल गर्दै ह्याट्रिक पूरा गरे। अतिरिक्त समयमा उनले पेनाल्टीमार्फत चौथो गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे। प्रतियोगिता अन्तर्गत यो पहिलो ह्याट्रिक हो।
त्यस्तै, लेखराज कार्कीले पहिलो हाफको इन्जुरी समयमा पुल्चोकका लागि एक गोल थपे। खेलको अन्त्यतिर पुनः नितेश राईले व्यक्तिगत दोस्रो गोल गर्दै राइजिङ स्टारका लागि स्कोर ४–२ बनाए पनि टोली पराजयबाट जोगिन सकेन।
उल्लेखनीय प्रदर्शनका आधारमा पुल्चोक एफसीका उमेश मगर ‘म्यान अफ द म्याच’ घोषित भए।महोत्सव अन्तर्गत भोलि सिरिजंघा एफसी र प्रभात सामुदायिक क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।