

कोशी प्रदेशमा १ खर्ब ५२ अर्ब लगानी भित्रियो, ४६ परियोजनामा सम्झौता
विराटनगर, वैशाख १९ –
कोशी प्रदेशमा पहिलो पटक आयोजित लगानी सम्मेलनमार्फत १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ बराबरको लगानी भित्रिएको छ। विराटनगरमा वैशाख १८ र १९ गते आयोजित दुईदिने लगानी सम्मेलनको समापन समारोहमा ४६ वटा परियोजनामा लगानीकर्ताहरूले सम्झौता गरेका छन्।
सम्मेलन अन्तर्गत १ खर्ब ७३ अर्ब ४९ करोड लागतका ७१ वटा परियोजना प्रदेश सरकारले सोकेस गरेको छ। तीमध्ये करिब दुई दर्जन परियोजनामा सार्वजनिक–निजी साझेदारी (PPP)का लागि सम्झौता (MoU) गरिएको हो।
लगानी आह्वान गरिएको क्षेत्रहरूमा कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, होटल, उद्योग र फोहोर व्यवस्थापन परेका छन्। परियोजनाहरू न्यूनतम १० करोडदेखि अधिकतम ३२ अर्बसम्मका छन्।
प्रमुख परियोजनामा सोलुखुम्बुको १ अर्ब लागतको कोदो रक्सी ब्राण्डिङ उद्योग, सुनसरी र उदयपुरको ३२ अर्बको हरित हाइड्रोजन तथा मल उद्योग, उदयपुरकै ३२ अर्बको क्लिंकर परियोजना रहेका छन्। विराटनगरमा ४ अर्ब ८० करोडको बहुउद्देश्यीय भवन, मोरङको ५ अर्बको कोशी पोडवे, ५ अर्बको चौरीखर्क केवलकार लगायतका पूर्वाधार योजनाहरू प्रस्तावित छन्।
पर्यटन क्षेत्रमा १५ वटा परियोजना छन्। ताप्लेजुङको कन्काई–इलाम–सन्दकपुर पोडवेमा २५ अर्ब, खोटाङको हलेसी पोडवेमा १२ अर्ब, कन्याम–अन्तु केवलकारमा डेढ अर्ब लगानी प्रस्ताव गरिएको छ।
सम्मेलनमा उद्योगी पवनकुमार सारडा र अनुपम राठीले १ अर्ब ६० करोडको पशुपति इनर्जी प्रोजेक्टमा लगानी गर्ने सम्झौता गरे। राजेन्द्र राउतले मोरङको बुढीगंगामा २ अर्ब ४० करोडको आर.आर. अस्पताल निर्माणका लागि सम्झौता गरेका छन्।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे। उनले वैकल्पिक सडक सञ्जाल विकासले उत्पादन वस्तुको बजारिकरणमा सहजता ल्याउने बताए।