

प्रधानमन्त्री ओलीको उद्घोष : कोशी प्रदेश लगानीका लागि उत्कृष्ट गन्तव्य
विराटनगर, वैशाख १९ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशलाई लगानीका लागि अत्यन्त उपयुक्त क्षेत्रको रूपमा चित्रित गर्दै उद्योग, पर्यटन र पूर्वाधार विकासका क्षेत्रमा असीम सम्भावना रहेको बताएका छन्। विराटनगरस्थित विरेन्द्र सभागृहमा बिहीबार सुरु भएको कोशी प्रदेश लगानी सम्मेलन–२०८२ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रदेशमा शान्ति सुरक्षा, सुदृढ पूर्वाधार, श्रम–पुँजीमैत्री सम्बन्ध तथा उन्नत यातायात सञ्जालले लगानीका लागि बलियो आधार तयार पारेको बताए।
प्रधानमन्त्री ओलीले पूर्व–पश्चिम राजमार्गसँगै मदन भण्डारी, हुलाकी, र मध्यपहाडी राजमार्गजस्ता वैकल्पिक सञ्जालको विकासले कच्चा पदार्थको ढुवानी र उत्पादनको बजार पहुँचलाई सहज बनाएको उल्लेख गरे। उनले भने, “कोशी, तमोर, किमाथांका, टिपताला नाकाहरू खुला भइसकेका छन्। कोशी करिडोर निर्माण भइरहेको छ। जहाँसुकैबाट सामान ढुवानी गर्न सजिलो छ। अब ढुक्क भएर लगानी गर्नुहोस्।”
प्रधानमन्त्री ओलीले भारतसँगको जलमार्ग विस्तार गरी गंगा नदी हुँदै कोशी र कर्णाली नदीमार्फत वस्तु ढुवानी गर्ने प्रक्रिया सुरु गर्ने समेत जानकारी दिए। साथै, विराटनगर विमानस्थलको स्तरोन्नति गरिने बताएका उनले श्रमिक र रोजगारदाताबीच सुमधुर सम्बन्ध स्थापना भएसँगै लगानी वातावरण सुदृढ भएको दाबी गरे।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि आठवटा कानुन अध्यादेशमार्फत संशोधन गरेको बताए। उनले प्रदेशमा आएका लगानी सुरक्षित रहने र निजी क्षेत्रको संरक्षणमा सरकार जिम्मेवार रहने प्रतिवद्धता जनाए।
लगानीका लागि ७१ परियोजना प्रस्तुत
लगानी सम्मेलनमा ८ वटा क्षेत्रका ७१ परियोजना प्रस्तुत गरिएको छ। ती परियोजनाहरू निजी क्षेत्रसँग एक वर्षसम्म समन्वय र छलफलपछि छनोट गरिएको मुख्यमन्त्री कार्कीले जानकारी दिए।
अन्य प्रदेश प्रमुखहरूको धारणा
मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले युवाको वैदेशिक पलायन रोक्न उद्योग र पर्यटनमा लगानी बढाउनुपर्नेमा जोड दिए। कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले संघीय संरचना बलियो बनाउन कानुनी जटिलता समाधान गर्नुपर्ने बताए।
विशेषज्ञको नजरमा कोशी प्रदेश
प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले लगानी वातावरण सुधारका लागि नीतिगत र कानुनी सुधार भइरहेको जानकारी दिए। नेपाल राष्ट्र बैंककी कार्यवाहक गर्भनर निलम ढुंगाना तिम्सिनाले लगानीकर्ताको प्रतिबद्धता अनुसारको कार्यान्वयन सुनिश्चित गर्नुपर्ने बताइन्। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सार्वजनिक–निजी साझेदारीलाई प्रोत्साहन गर्न संघीय सरकारले कानुन संशोधन गरिसकेको बताए।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले खुला सीमा र मूल्य असमानताको समस्याले स्वदेशी लगानीकर्तालाई हतोत्साही बनाएको बताउँदै नीति सुधारको खाँचो औंल्याए।
कोशी प्रदेशका योजना तथा आर्थिक मामिला मन्त्री रामबहादुर मगरले पर्यटन, पूर्वाधार, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी प्राथमिकतामा रहेको बताए। उनले सम्मेलन मार्फत प्रस्तुत गरिएका परियोजनाहरू देशभित्र र बाहिरका लगानीकर्ताका लागि उपयोगी हुने विश्वास व्यक्त गरे।लगानी सम्मेलन अन्तर्गत विभिन्न थिमेटिक सेसनबिहीबार साँझ नलेज सेयरिङ सेसन सम्पन्न भएको सम्मेलनमा शुक्रबार विराटनगरका विभिन्न होटलहरूमा थिमेटिक सेसन सञ्चालन हुने आयोजकले जानकारी दिएका छन्।