

कोशी प्रदेशमा पहिलो ऐतिहासिक लगानी सम्मेलन: १ खर्ब ७३ अर्ब बराबरका ७१ परियोजना सार्वजनिक हुँदै
विराटनगर, वैशाख १७ –
कोशी प्रदेश सरकारले पहिलोपटक आयोजना गर्न लागेको लगानी सम्मेलन यही वैशाख १८ र १९ गते विराटनगरमा सम्पन्न हुने भएको छ। संघीयता कार्यान्वयनपछिको यो प्रदेशस्तरीय पहिलो लगानी सम्मेलन ऐतिहासिक र उपलब्धिमूलक हुने प्रदेश सरकारले दाबी गरेको छ।
सम्मेलनको उद्घाटन नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरस्थित विरेन्द्र सभा गृहमा गर्नुहुनेछ। दुई दिनसम्म चल्ने यस सम्मेलनमा १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबरका ७१ वटा परियोजना सार्वजनिक गरिनेछ।
कोशी प्रदेश लगानी प्राधिकरणले बुधवार पत्रकार सम्मेलन गरी सम्मेलनका सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। सम्मेलनमा पर्यटन, कृषि, उद्योग, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि सेवा, स्वास्थ्य लगायतका आठ क्षेत्र समेटिएको बताइएको छ।
प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाका अनुसार, यी परियोजनाहरू कार्यान्वयन सहज होस् भनेर प्रदेश सरकारले आवश्यक आठ वटा कानुन अध्यादेशमार्फत संशोधन गरिसकेको छ। संघीय सरकारसँगको सहकार्यमा अन्य कानुनी अवरोध हटाउने प्रक्रिया पनि अगाडि बढाइएको छ।
अन्तर्राष्ट्रिय सहभागिता उल्लेखनीय
सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ता तथा गैरआवासीय नेपाली (NRNs) हरूको उपस्थिति रहनेछ। साथै, स्वदेशका प्रतिष्ठित उद्योगपति र व्यवसायीहरूको पनि सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ।
छ वटा विषयगत सत्र
दुईदिने सम्मेलन अवधिमा कृषि र पर्यटन, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानी सम्बन्धी छलफल हुनेछ। साथै, तीन तहका सरकारबीचको समन्वय र लगानीमैत्री वातावरण निर्माणबारे विज्ञ तथा जनप्रतिनिधिहरूले धारणा राख्नेछन्।
प्री मिट र फलोअप मिटिङको रणनीति
प्रदेश सरकारले सम्मेलनलाई नतिजामुखी बनाउने लक्ष्यसाथ सम्मेलनअघि प्री मिट तथा सम्मेलनपछि फलोअप मिटिङहरू आयोजना गर्ने नीति बनाएको छ। परियोजनामा देखिएका समस्याहरू समाधान गर्दै अगाडि बढ्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ।
पत्रकार सम्मेलनमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राणा मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी तथा प्राधिकरणका कार्यकारी निर्देशक डा. सरोज कोइराला सहभागी थिए।
“सम्मेलनलाई सफल बनाउन सञ्चारकर्मीहरूको सक्रिय सहयोग आवश्यक छ,”
डा. कोइरालाले पत्रकार सम्मेलनमा आग्रह गरे।