स्वास्थ्य उपचार सेवामा शुल्क छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

Logo
भोजराज घिमिरे शनिबार, बैशाख १३, २०८२

स्वास्थ्य उपचार सेवामा शुल्क छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर
विराटनगर,
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, बिराट मेडिकल कलेज टिचिङ अस्पताल टंकिसुनवारी मोरङ र बिराट नर्सिङहोम प्रा.लि. विराटनगरबीच स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतामा नेपाल प्रहरीका बहालवाला, अवकाश प्राप्त प्रहरी कर्मचारी, अमर प्रहरीका परिवार तथा निजका आश्रित परिवारहरूलाई विभिन्न रोगको उपचारमा शुल्क छुट सुविधा दिने सहमति गरिएको छ।

सम्झौतामा कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट प्रहरी नायब महानिरीक्षक राजन अधिकारी (पहिलो पक्ष) र बिराट मेडिकल कलेज तथा बिराट नर्सिङहोमको तर्फबाट अस्पतालका प्रमुख कार्यकारी अधिकृत एवं उपाध्यक्ष डा. निकिता कार्की (दोस्रो पक्ष) बीच हस्ताक्षर गरिएको हो।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले समाजमा बढ्दो सुरक्षा चुनौतीबीच प्रहरीले निरन्तर सुरक्षा प्रदान गरिरहेको उल्लेख गर्दै अस्पतालसँगको सहकार्यले प्रहरी परिवारको स्वास्थ्य सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै, वँहाले रोग लागेपछि मात्र नभई नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको उल्लेख गर्नुभयो।

त्यसैगरी, बिराट नर्सिङहोमका प्रशासन प्रमुख पदम विनाडीले नेपाल प्रहरी समाजमा दिनेको योगदान अतुलनीय रहेको बताउँदै प्रहरी कर्मचारीको सहज उपचारका लागि छुट सुविधा उपलब्ध गराइएको जानकारी दिनुभयो।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी बरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, वरिष्ठ तथा जुनियर प्रहरी अधिकृतहरू, बिराट मेडिकल कलेज र बिराट नर्सिङहोमका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356