

पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा सार्वजानिक सुुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
आज वडा नं. ५ र ६ को पायक पर्ने स्थान हसन्दह बजारमा आयोजना गरिएको सार्वजानिक सुनुवाई कार्यक्रममा विशेषतः नगरको विकास निर्माण, स्वास्थ्य, शिक्षा र कृषिसँग सम्वन्धित सवालहरु उठेका थिए ।
नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरवासीको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । इङ्घङ मिडिया प्रा.लि.को सहकार्यमा भएको सो कार्यक्रममा उठेका सवालहरु जवाफ नगर प्रमुख मोहनप्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशि राई र स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले दिनुभएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत राईले सुझावका रुपमा आएका शव वाहनमा स्टेचर, हसन्दह बजारमा लाइट, डस्बिन, विपन्नको फुसको छानो हटाउने अभियान तुरुन्त गरिने प्रतिवद्धता जाहेर गर्नुभयो ।
यसैगरी नगर प्रमुख मोहनप्रसाद तुम्वापोले नगरपालिकामा सम्पन्न भएका र हुन बाँकी विकास योजनाहरुलाई ताकेता गरिरहेको बताउनु हुँदै अधुरा कामहरु छिट्टै पूरा गर्ने बताउँदै समग्र नगरका विषयमा आफू सिरियस भएर लागिपरेको सुझाउनुभयो ।
सार्वजानिक सुनुवाई कार्यक्रम नगर उप–प्रमुख देविमाया काफ्ले, वडा नं. १ का वडाध्यक्ष भीम राई, वडा नं. २ का वडाध्यक्ष नैना राई, वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, वडा नं. ५ का वडाध्यक्ष चेतेन्द्र खड्का, वडा नं. ३ का कार्यवाहक अध्यक्ष चन्द्रप्रकाश चेम्जोङ, वडा नं. ६ का कार्यवहक अध्यक्ष विष्णुकुमार लिम्बु, नगरपालिकाका शाखा प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु, शिक्षक बुद्धिजीवीहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।