

काठमाडौँ — माइक्रोसफ्ट, गुगल, मेटा, टिकटक, एडोबी, नेटफ्लिक्स, अमेजन, एप्पलजस्ता विश्वका ठूला सामाजिक सञ्जाल एवं सूचना प्रविधि कम्पनीले नेपालमा विद्युतीय सेवा उपलब्ध गराएर एक वर्षमा पौने ३ अर्ब रुपैयाँ कारोबार गरेका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा गरेको उक्त कारोबारबापत ती कम्पनीले साढे ४१ करोड कर तिरेका छन् । कर तिर्नेमध्ये एक अमेरिकी कम्पनी एक्लैले अधिकतम झन्डै १ अर्ब ३१ करोड रुपैयाँसम्म कारोबार गरेको छ ।
गत आर्थिक वर्षमा आन्तरिक राजस्व विभागमा दर्ता भई प्यान नम्बर लिएका १८ कम्पनीले २ अर्ब ७५ करोड ८० लाख ३२ हजार रुपैयाँको कारोबार गरेको ठूला करदाता कार्यालयले जनाएको छ । यसबापत ती कम्पनीले सरकारलाई ३५ करोड ८५ लाख ४४ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) र ५ करोड ८१ लाख ७५ हजार रुपैयाँ विद्युतीय सेवा कर तिरेका हुन् । भ्याट र विद्युतीय सेवा कर गरी ग्लोबल टेक कम्पनीबाट सरकारले कुल ४१ करोड ६७ लाख १९ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।
तीमध्ये सबैभन्दा धेरै कारोबार गर्ने एक कम्पनीले अधिकतम १७ करोड १० लाख रुपैयाँ भ्याट र २९ लाख ३६ हजार रुपैयाँ विद्युतीय सेवा कर बुझाएको थियो । आर्थिक ऐन २०८० बमोजिम वार्षिक २० लाख रुपैयाँभन्दा बढी कारोबार गर्ने गैरबासिन्दा व्यक्ति (कम्पनी) ले नेपालमा भएको वार्षिक कारोबार मूल्यको २ प्रतिशत विद्युतीय सेवा कर र १३ प्रतिशत भ्याट तिरेको कार्यालयका सूचना अधिकारी ध्रुवप्रसाद पाण्डेले जानकारी दिए ।