भारतकाे कर्नाटकस्थित चित्रदुर्ग जिल्लाको उपनगरीय क्षेत्रमा एक सेवानिवृत्त कार्यकारी इन्जिनियरको घरबाट पाँचवटा कंकाल फेला परेपछि सनसनी मच्चिएको छ । यो घटना बाहिर आएपछि एक्लै बसेको यो परिवारको बारेमा अनेकन चर्चा भइरहेकाे छ । प्रहरीले गरेकाे अनुसन्धानमा परिवारका प्रमुख जगन्नाथ रेड्डी (८५ वर्ष), उनकी श्रीमती प्रेमा (८० वर्ष), छोरी त्रिवेणी (६२ वर्ष) र दुई छोरा कृष्ण (६० वर्ष) र नरेन्द्र (५७ वर्ष) आफन्तसँग दूरी बनाएर बस्ने गरेका पाइएकाे छ ।
बीबीसी हिन्दीसँगकाे कुराकानीमा चित्रदुर्गका प्रहरी उपरीक्षक धर्मेन्द्र कुमार मीनाले बताएअनुसार जगन्नाथ रेड्डीकाे याे परिवार आश्रम जाने योजनामा थिए । त्यसैले लामो समयसम्म घर बन्द भएको देखेर पनि मानिसहरूले उनीहरू आश्रम गएकाे ठाने र कुनै किसिमकाे शंका गरेनन् ।
कसैले ढोका ढकढक्याए पनि उनीहरू बाहिर ननिस्केर झ्यालबाट मात्रै कुरा गर्थे । केही वर्षदेखि यस घर वरपरका मानिसहरूले यस क्षेत्रमा दुर्गन्ध आएको गुनासो गरे पनि प्रहरीले खासै चासो दिएकाे थिएन । घर बन्द भएकाले प्रहरी पनि धेरै समय आएन । घरको बाहिरी गेट पनि बन्द थियो । झण्डै दुई महिनाअघि गेट फुटेको र दुई दिनअघि घरको ढोका पनि फुटेको देखेपछि प्रहरीलाई खबर गरिएकाे थियाे ।
प्रहरी अनुसन्धानका क्रममा घरबाट कागजपत्र र विभिन्न अस्पतालको मेडिकल रिपोर्ट फेला परेको छ । यी रिपोर्टहरू बैंगलाेर र अन्य अस्पतालहरूका छन् । निम्हान्स अस्पतालबाट पनि रिपोर्ट आएको थियो, जसमा जगन्नाथ रेड्डीको शरीरमा रगत जमेको उल्लेख छ ।
छोरी स्पन्डिलाइटिसबाट पीडित थिइन् भने कृष्ण मोटोपना र मुटुको रोगबाट पीडित थिए भन्ने पनि रेकर्डले देखाएको छ । कान्छा छाेरा नरेन्द्रको स्वास्थ्यसम्बन्धी समस्याबारे खासै केही पत्ता लागेकाे छैन । मीनाले भनिन्, ‘सरकारी डाक्टरबाट प्रहरीले यी मेडिकल रेकर्डहरू जाँच गरिरहेको छ ।’
एक प्रहरी अधिकारीले बीबीसी हिन्दीलाई दिएकाे जानकारी अनुसार काेठामा एउटा नोट पनि फेला परेको थियो जसमा परिवारले कुनै गम्भीर कदम चाल्न सक्छ भन्ने संकेत गर्छ, यद्यपि त्यसमा मिति र हस्ताक्षर छैन ।
परिवारको कुन सदस्यले यो लेखेको हो भन्ने थाहा हुन नसकेको प्रहरीकाे भनाइ छ । एक आफन्तका अनुसार रेड्डी परिवारका सदस्यहरू बिरामीले समस्यामा परेको हुन सक्छन् । यसका साथै छोरीको बिहे नहुनेमा पनि चिन्ता बढेकाे थियो । नाम नबताउने सर्तमा एक प्रहरी अधिकारीले भने, ‘अहिले भेटिएका प्रमाणबाट यो घरमा पटकपटक तोडफोड भएको हुन सक्छ ।’
प्रहरी घरभित्र पसेपछि आमा छोरीको कंकाल एउटै ओछ्यानमा फेला परेको थियो । एउटै कोठाको भुइँमा बाबु र छोराको कंकाल फेला परेको छ । कान्छो छोराको शव अर्को कोठामा फेला परेको थियो । सबै कंकाल परीक्षणका लागि फरेन्सिक प्रयोगशालामा पठाइएको छ । मीनाले भनिन्, ‘आशा छ दुई साताभित्र अनुसन्धान प्रतिवेदन आउनेछ ।’