मधेश आन्दोलनको १८ वर्षः अझै ओभाउन सकेनन् सहिद परिवारको आँसु

Logo
Red FM आइतबार, माघ ०६, २०८१

सिरहा । माघको महिना छ । बाहिर शीतलहर र बाक्लो कुहिरोले ढपक्कै ढाकेको छ । एकाबिहानै कठ्याङ्ग्रिँदो चिसोको कुनै वास्ता नगरी लहानस्थित सहिदचोकमा मानिसहरूको घुइँचो बढ्दै गएको थियो ।

आज अर्थात् माघ ५ गते बलिदानी दिवस । मधेश प्रदेश सरकारले १८ वर्षअगाडि भएको मधेश आन्दोलनका सहिदहरूको सम्झनामा हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । आज विशेष दिन भएकाले बिस्तारै मधेश केन्द्रित दल तथा कार्यकर्ताहरूको चहलपहल र उपस्थिति बढ्दै गएको हो ।

एकातिर सहिदको प्रतिमामा माल्यार्पण गर्न नेता र कार्यकर्ताको भीड लाग्दा अर्कातिर लक्ष्मी सहनी र उहाँकी श्रीमती डोमनी सहनीको मनमा छट्पटी बढ्दै जान्छ । विगतका स्मृति र विस्मृतिहरूलाई उप्काएर ताजा बनाइदिन्छ, जसले सहनी परिवारको सपनालाई क्षणभरमा उजाडेको थियो ।

यसैगरी, छट्पटी र तनाव बढ्छ महम्मद मस्तकीलाई पनि । आजभन्दा १८ वर्ष पहिला लहानमा चर्कीएको मधेश आन्दोलनले सहनी परिवारको सपनालाई क्षणभरमा उजाडेको थियो । विसं २०६३ माघ ५ गते तत्कालीन मझौरा गाविस–५ का रमेशकुमार महतो, माघ ७ गते इटहर्वा गाविस–३ का मोहम्मद अनिश, सोही दिन महदेव गाविस–२ का प्रमोद सदाय र माघ ८ गते लहान नगरिपालिका–४ का विजय सहनीको सोही आन्दोलनमा प्रहरीको गोली लागेर शहादत प्राप्त भएको थियो । तिनै सहिद विजय सहनीको बुबाआमा हुनुहुन्छ लक्ष्मी र डोमनी सहनी ।

दुई सन्तानमध्ये घरको जेठो १८ वर्षीय विजय सहनीलाई आन्दोलनमा गुमाएको पल सम्झिँदा बुबा लक्ष्मी सहनीलाई अझै भक्कानो छुटेर आउँछ । “प्रत्येक माघ ५ गतेले मलाई पीडा र आँसु दिएर जान्छ । विगतको स्मृति र विस्मृतिलाई ताजा बनाउने काम गर्छ”, आफ्नै छोराको सालिक अगाडि उभिएर सहनीले भावुक हुँदै भन्नुभयो, “आन्दोलनले के कति प्राप्त भयो थाहा छैन तर हाम्रो परिवार उजाड बनाइदियो । खुसीहरू सधैँलाई छुटिगए ।”

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356