

काठमाडौँ — हरेक उडानअघि क्याबिनक्रुले यात्रुलाई आपत्कालीन ढोकाबारे जानकारी दिन्छन् र बिनाकारण ती ढोका नचलाउन पनि सचेत गराउँछन् । किनभने ती ढोका आपत्कालीन अवस्थामा जहाजको मूलढोकाबाट निस्कन नसकिने अवस्थाका लागि मात्र हुन् ।
पुस १२ मा मलेसियाबाट काठमाडौं फर्किन लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजको दायाँपट्टिको पहिलो आपत्कालीन ढोका बिनाकारण खुल्यो । सँगै ‘स्लाइड’ पनि खुल्यो । ‘स्लाइड’ संकटपूर्ण अवतरणका बेला यात्रुलाई बाहिर निकाल्न प्रयोग गरिन्छ । एक पटक निस्केको ‘स्लाइड’ पुनः प्रयोग गर्न मिल्दैन र नयाँ जडान गर्नुपर्छ । निगमका एक अधिकारीका अनुसार ३० लाख हाराहारी खर्च गरेर जहाजमा अर्को ‘स्लाइड’ राखिएको छ ।
ढोका मर्मत गरेर मात्रै उडान गर्न पाइने भएकाले त्यसका लागि निगमको मलेसियास्थित कार्यालयले क्वालालम्पुर विमानस्थलमा रहेको प्राविधिक टोलीको सहायता लिएको थियो । प्राविधिक टोलीले ‘स्लाइड’ बिनै ढोका मर्मत गर्यो । एउटा आपत्कालीन ढोकामा ‘स्लाइड’ नरहेकाले उडान सुरक्षा र जहाजको सन्तुलन मिलाउन ४२ यात्रुलाई क्लालालम्पुर छाडेर निगमको जहाज काठमाडौंका लागि उड्यो । जहाज त्यो दिन १ सय १० यात्रु लिएर आएको थियो । ढोका मर्मत गर्नुपर्दा उडान ४ घण्टा ढिलो भएको थियो ।
जहाज उत्पादक कम्पनी तथा अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) को प्रावधानअनुसार न्यारोबडी जहाजमा चार इमर्जेन्सी ढोका हुन्छन् । यीमध्ये कुनै एउटा ढोका यथावत् अवस्थामा नभए सोही अनुपातमा यात्रुको संख्या घटाएर मात्रै उडान गर्न पाइन्छ । त्यसैले ४२ यात्रुलाई क्वालालम्पुरमै छाडिएको थियो । ‘छाडिएका यात्रुलाई अरू विमानमा टिकट किनेर ३/४ दिन लगाई नेपाल ल्याइयो,’ निगमका एक अधिकारीले भने, ‘त्यसले २० लाख रुपैयाँभन्दा बढी अतिरिक्त खर्च भयो ।’